काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम अमूर्त, गन्तव्यहीन र निराश भएको टिप्पणी गरेका छन् ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारको नीति तथा कार्यक्रमबाट आगामी बजेट पनि गन्तव्यहीन आउँछ कि भन्ने आशङ्का देखिएको बताए उपमहासचिव पुनले गठबन्धन सरकारले संविधान संशोधन गर्ने कुरा गरे पनि हालसम्म त्यो हुन नसकेको बताए ।
उनले नीति तथा कार्यक्रममा विकास, निर्माण र पूर्वाधारलाई स्पष्ट प्रस्तुत नगरिएको बताउँदै आर्थिक सुधारमा सरकारले गर्न खोजेको के भन्दै प्रश्न समेत गरे । उनले विगतको सरकारले नयाँ दर्जनौँ कार्यक्रम घोषणा गरेर कार्यान्वयनको लागि सङ्कल्प गरेको स्मरण गर्दै तिनीहरू अहिले रोकिएको समेत जिकिर गरे ।
उनले भने, ‘राष्ट्र प्रमुखले गर्ने सम्बोधन प्रधानमन्त्री र सरकारको कार्यक्रम भएको हुनाले त्यसमा साह्रै अमूर्त, गन्तव्यहीन र निराश खालको भयो । यसले आगामी बजेट पनि यस्तै गन्तव्यहीन आउँछ भन्ने आशङ्का देखाएको छ । खास गरी संविधान संशोधनको कुरा थियो, एक वर्षदेखि केही काम हुन सकेको छैन, गठबन्धनबाट । अरू क्षेत्रमा पनि स्पष्ट केही आएन, के गर्न खोजेको हो आर्थिक सुधारमा ? विकास, निर्माण र पूर्वाधारमा स्पष्ट दिनुपर्नेमा त्यो पनि आएन । विगतको सरकारले नयाँ दर्जनौँ कार्यक्रम घोषणा गरेर कार्यान्वयनको लागि सङ्कल्प गरेको थियो, त्यसलाई अहिले रोकिएको छ । तिनीहरूलाई के गर्ने, त्यसमा स्पष्ट केही आएको छैन ।’ उनले सरकारले नीति तथा कार्यक्रमबाट गन्तव्य देखाउन नसकेको बताउँदै यसले जनतामा निराशा थप्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया