बेइमानीको खेती र इमानको हत्या गर्न प्रविधिको दुरुपयोग नहोस् : प्रधानमन्त्री ओली

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यको हत्या र असत्यको प्रवर्द्धनका लागि प्रविधिको प्रयोग गर्न नहुने बताएका छन् ।  शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको सही प्रयोगमा सजग रहनुपर्ने बताए ।  

उनले सूचना प्रविधिको क्षेत्रमा विशेष विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै सेवा प्रवाहलाई छिटो, छरितो र सुविधायुक्त बनाउन प्रविधिको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले पछिल्लो समय बेइमानीको खेती गर्न र इमानको हत्या गर्न प्रविधिको दुरुपयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरे । 

उनले प्रविधिको विकाससँगै उत्पन्न हुने समस्याहरूको समाधान गर्दै मानव समाजलाई सुखी बनाउने दिशामा अगाडि बढ्न आवश्यक रहेको बताए ।  

उनले भने, ‘बेइमानीको खेती गर्न र इमानको हत्या गर्न टेक्नोलोजीको दुरुपयोग नहोस् भन्ने कुरामा हामी सजक हुनुपर्दछ । सत्यको गला रेट्न र असत्यको जरामा पानी हाल्नको लागि एआईको प्रयोग नहोस् । यसमा हामीले ध्यान दिनुपर्दछ । टेक्नोलोजीको विकाससँगै आएका समस्याहरूको हामीले समाधान पनि गर्दै जानुपर्छ । मानव समाजलाई सुखी बनाउन टेक्नोलोजी चाहिन्छ । आईसिटीको क्षेत्रमा हामीले विशेष विकास गर्नुपछ । ताकि सेवालाई छिटो, छरितो, सुविधायुक्त, सहज आपूर्तिको परिपाटिको लागि आवश्यक छ । त्यस कारण आज सूचना प्रविधिको लागि विशेष दिन हो । हामी एउटा आत्मविश्वास र उत्साह लिएर अगाडि बढौँ ।’

कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता उपकरणहरू दुरुपयोग भइरहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुन आवश्यक रहेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?