काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई दुई दिनअघि बुधबार अनधिकृत पत्र लेखी डिल्लीबजार कारागार चलान गर्ने सर्वोच्च अदालतको मुद्दा तथा रिट शाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई सरकारी कागजात किर्तेसम्बन्धी मुद्दा चलाइने भएको छ ।
अनधिकृत पत्र लेखेका कारण काठमाडौं प्रहरीको हिरासतमा रहेका विष्टलाई आज शुक्रबार म्याद थप्न जिल्ला अदालत काठमाडौं लगिएको छ । हिजो बिहीबार सार्वजनिक बिदा परेकाले उनलाई आज मात्र म्याद थपका लागि अदालत लगिएको हो ।
काठमाडौं परिसरका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले विष्टले सर्वोच्च अदालतको लेटरप्याड र छापको दुरुपयोग गरेको कारण उनीविरुद्ध सरकारी कागजात किर्ते मुद्दा चलाइने बताए । प्रारम्भिक बयानमा उनले जानीजानी त्यस्तो कसुर गरेको स्वीकारेका छन् ।
उनका बारेमा सर्वोच्च अदालतले पनि आवश्यक निर्णय लिने सम्भावना भएका कारण अदालतको निर्णय र प्रहरी अनुसन्धानलाई समान बनाउने गरी मुद्दा अगाडि बढाइने प्रहरीले जनाएको छ ।
रेशम भने पक्राउ परेकै दिन कारागारमुक्त भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया