नेपाल र बेलायतको सर्वोच्चबिच सहकार्य

लोकपथ
287
Shares

काठमाडौं । नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको न्यायिक प्रतिनिधिमण्डलले बेलायतको सुप्रीम कोर्टसँग ऐतिहासिक ‘लेटर अफ गुडविल’ मा हस्ताक्षर गरेको छ।

२९ अप्रिल (वैशाख १७) मा बेलायतको सुप्रीम कोर्टका अध्यक्ष लर्ड रिड अफ एलरम्युइरसँगको भेटमा उक्त पत्रमा हस्ताक्षर भएको हो।

यस सम्झौताले नेपाल र बेलायतका उच्च न्यायालयबीच सहकार्य, अनुभव आदानप्रदान तथा न्यायिक सुधारमा साझा प्रयासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा प्रधानन्यायाधीश राउतले नेपाली सर्वोच्च अदालतका केही ऐतिहासिक फैसलाहरूमा बेलायती सुप्रीम कोर्टका निर्णयहरू सन्दर्भस्वरूप प्रयोग गरिएको उल्लेख गर्दै बेलायती न्याय प्रणालीको पारदर्शिता, निष्पक्षता र विधिको शासनप्रति सम्मान प्रकट गरे।

त्यस्तै भ्रमणका क्रममा उनले बेलायती संसदका सभामुख सर लिण्डसे होईल, इंगल्यान्ड एण्ड वेल्सका लेडी चीफ जस्टिस द बारोनिस कार अफ वाल्टन-ओन-द-हिल, न्यायाधीशहरू, कानुनी निकाय प्रमुखहरू र सांसदहरूसँग भेट गर्दै न्याय प्रणालीका विविध पक्षमा छलफल गरे।

वैशाख १७ गते न्यायिक नियुक्ति आयुक्त टनवीर इकबाल, बार काउन्सिल अध्यक्ष बारबरा मिल्स केसी, इन्टरनेशनल कमिटीका अध्यक्ष ह्यु मर्सर केसीसँग भएको भेटमा पनि दुई देशको ऐतिहासिक सम्बन्धलाई न्यायिक क्षेत्रमा अझ सशक्त बनाउने प्रतिबद्धता जनाइएको थियो।

हिजो पनि नेपाली टोलीले ओल्ड बेली अदालतका न्यायाधीशहरू एन्थोनी लियोनार्ड केसी, सारा ह्वाइटहाउस, इनर टेम्पल इन्टरनेशनल कमिटीका अध्यक्ष कीरोन बियल केसीसहित बेलायती न्यायिक क्षेत्रका व्यक्तित्वहरूसँग भेटघाट जारी राखेको थियो। प्रतिनिधिमण्डल स्कटल्यान्ड भ्रमणमा पनि जाने कार्यक्रम छ, जहाँ दुई देशबीचको न्याय प्रणालीको अनुभव आदानप्रदान गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?