‘सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन निर्माणमा ढिलाइ भयो’

लोकपथ
301
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन निर्माणमा ढिलाइ भएको बताएकी छन् ।  नेपाली कांग्रेसको जनसम्पर्क विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् । 

संविधान जारी भएपछिको वर्षहरूमा बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत निरन्तरतामा बाधा पुगेको उनको भनाइ छ । उनले सरकारको स्थायित्वको अभावले नीतिगत काममासमेत समस्या परेको कारण दुई मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार चलाउनुपरेको दाबी गरिन् । 

मुलुकको आर्थिक, सामाजिक रूपान्तरण चाहेअनुसार नभएकै कारण एमालेसँग मिल्नुपरेको टिप्पणी उनको भनाइ छ । उनले गैरआवासीय नागरिकताको अधिकारका विषय कानुनको मस्यौदा तयार भइरहेको र छिट्टै संसद्मा पेस गरिने बताइन् । 

उनले भनिन्, ‘एनआरएन नागरिकता दिन ढिलो भएकै हो । अहिले स्थायी सरकार आयो कि भनेर अलिकति गति पक्रेको चाहिँ छ । संविधान निर्माणपछि बिचका सरकारले गैरआवासीय नागरिकताको विषयमा ध्यान पुर्‍याउन नसकेको हो ।  सरकार एकदमै अस्थायी र अस्थिर हुने, एउटा सरकारले गति लिन थाल्यो कि अर्को सरकार बन्ने यो कारणले पनि अहिले दुई वटा ठूलो र प्रतिस्पर्धी दलहरू नै मिलेर सरकार बनाउनुपरेको कारण पनि यही हो । किनभने हामीले आर्थिक, सामाजिक रूपान्तरण जुन हामीले खोजेका थियौँ । त्यो हुन सकेन कि भन्ने हामी सबैलाई लागेर चुनावमा हेरौँला अहिले मिलेरै चलाऊँ भनेर चलाएका छौँ । यो गैरआवासीय नागरिकतासम्बन्धीमा गैरआवासीय नागरिकहरूको सुझावकै आधारमा ड्राफ्ट प्रोसेस चलिरहेको छ ।’ 

उनले मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणको लक्ष्य पूरा गर्न साझा सहकार्य र स्थायित्व अपरिहार्य रहेको बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?