काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले मुस्लिम समुदाय लक्षित अभिव्यक्तिबारे पार्टीभित्रै विवाद उत्पन्न भएको छ ।
केही दिनअघि भारतको पहलगाममा भएको आतंकवादी हमलाबारे शाहीले मुस्लिम समुदायको हात रहेको अभिव्यक्ति दिएका थिए ।
सोबारे राप्रपाका सहायक महामन्त्री तहिर अलीले विज्ञप्ति नै जारी गरेर विरोध जनाएका हुन् ।
‘भारतको जम्मु कश्मीर पहलगाममा आतंककारी हमलाबाट १ जना नेपालीसहित २६ जना निर्दोष र निहत्थाको हत्या भएकोमा सो आतंकवादी घटनाको खेद प्रकट गर्दछु । यसै सन्दर्भमा राप्रपाका प्रवक्ता माननीय ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले मुस्लिम धर्मावलम्बीलाई जोडेर दिनुभएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
आतंककारीको न कुनै धर्म हुन्छ न जात । हामी नेपालका मुस्लिम धर्मावलम्बीहरु कुनै प्रकारको आतकंवादलाई समर्थन गर्दैनौँ । हामी नेपाली मुसलमानहरु नेपाल हिन्दू राष्ट्र हुनुपर्दछ भन्ने मान्यताका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध भएका हौँ,’ अलीले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
आफूहरु हिन्दूराज्यको पक्षमा भए पनि राप्रपाका प्रवक्ताले नै आफूहरुको भावनामा चोट पुग्नेगरी अभिव्यक्ति दिएकाले उक्त अभिव्यक्ति सच्याउन आग्रह गरे । साथै अभिव्यक्ति नसच्याए आफूहरु पार्टीमा बस्ने वा नबस्ने सोच्न बाध्य हुने समेत चेतावनी दिए ।
‘राप्रपाका प्रवक्ता माननीय ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले पटकपटक मुस्लिम समुदायलाई होच्याउने अभिव्यक्ति दिनहुँदै आउनुभएको र यसपटक पनि भारतको जम्मु कश्मीर पहलगाममा भएको आतंककारी घटनामा समस्त मुस्लिम समुदायलाई जोडेर दिनुभएको अभिव्यक्तिप्रति आश्चर्यचकित छौँ । र यसले हामी समस्त मुस्लिम समुदायमा चोट पुग्न गएको छ । तसर्थ भारतको जम्मु कश्मीर पहलगामको घटनामा दिनुभएको अभिव्यक्तिलाई तत्काल सच्याउन विनम्र आग्रह गर्दछौँ । अन्यथा राष्ट्रिय प्रजातन्त्र पार्टीका तमाम मुस्लिम समुदाय सोच्न बाध्य हुनेछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
साथै आगामी दिनमा धार्मिक सहिष्णुता खलल पुग्ने कुनै प्रकारका अभिव्यक्ति नदिन समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया