भाइरल ‘पेस्तोल डान्स’ : प्रहरी कार्यालयमा बबी सिंह, नृत्य भारतमा नभई सर्लाहीमा भएको पुष्टि

लोकपथ
5.2k
Shares

काठमाडौं । सामाजिक सञ्जालमा पेस्तोलसहितको नेतृ भाइरल भएपछि जनता समाजवादी पार्टीकी नेतृ डा. बबी सिंह यादव प्रहरी कार्यालय पुगेकी छिन् ।

केहीबेरअघि उनी जिल्ला प्रहरी कार्यालय सप्तरीमा पुगेको र अहिले सोधपुछ भइरहेको छ ।

केही दिनअघिदेखि सामाजिक सञ्जालमा बबी सिंहले पेस्तोलसहित नाचेको भिडियो भाइरल बनेपछि प्रहरीले त्यसबारे चासो दिएको थियो ।

उनले खेलौनाको रुपमा प्रयोग हुने रेन्जर टोय गन रहेको र आफू मामाघरमा नाचेको बताएकी थिइन् । उनले नेपाल भारत सीमावर्ती क्षेत्रमा पर्ने भारतको सीतामढीमा मामाको छोरीको घरमा नाचेको बताएकी थिइन् । तर उक्त डान्स गरेको स्थल भारत नभएर नेपालकै सर्लाहीमा रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले लोकपथलाई जानकारी दिए । साथै उनकै साथबाट सर्लाही प्रहरीले पेस्तोल बरामद गरेको उक्त पेस्तोल भने खेलौना रहेको उनले बताए ।

‘उहाँले नृत्य गरेको स्थल भारत नभएर सर्लाहीमा रहेको भन्ने खुल्न आएको छ । साथै नृत्यमा देखिएको पेस्तोल खेलौना नै रहेको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘उहाँ कार्यालयमा आइपुग्नुभएको छ । हामी सोधपुछ गरिरहेका छौँ ।’

उनी पूर्वमन्त्री समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंहकी छोरी समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?