काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य डा. बबी सिंह यादवले पेस्तोल लिएर डान्स गरेको विषयमा स्पष्टीकरण दिएकी छन् ।
केही दिनदेखि सामाजिक सञ्जालमा यादवले पेस्तोल लिएर डान्स गरेको र हवाई फायर गरेको भिडियो भाइरल भइरहेको छ ।
राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंहकी छोरी समेत रहेकी बबीले सत्ताको दुरुपयोग गरेको भन्दै आलोचना समेत भइरहेको छ ।
यता बबीले भने सामाजिक सञ्जालमा लेख्दै उक्त पेस्तोल नक्कली रहेको भन्दै बचाउ गरेकी छिन् । चौतर्फी आलोचनापछि यादवले भारतको सीतामढीमा आफ्नो मामाको छोरीको बिहेमा गएको र त्यहाँ ‘रेन्जर टोय’ लिएर नाचेको स्पष्टीकरण दिएकी छिन् ।
‘हिजोदेखि सामाजिक सञ्जालमा भाइरल बनाइएको एक भिडियोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाई बहिनीहरुको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरु सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु,’ उनले भनेकी छिन् ।
मामाको घरमा अत्यन्त व्यक्तिगत र पारिवारिक समारोहमा भाइबहिनीसहित परिवारका सदस्यहरुसँग रमाइलो गर्दा भिडियो खिचिएको र उक्त भिडियोलाई युट्युब पत्रकारले बाहिर ल्याएको भन्दै आपत्ति समेत जनाएकी छन् ।
‘मेरो मामाको घरमा अत्यन्तै व्यक्तिगत र पारिवारिक समारोहमा एक छिन भाइबहिनी र परिवारका सदस्यहरुसँग रमाइलो गर्दा खिचिएको सो भिडियोलाई कुनै तथाकथित ‘यूट्युब पत्रकार’ले सन्दर्भ र अनुमति बिना आफ्नै सामग्रीजस्तो गरी सामाजिक सञ्जालमा प्रस्तुत गर्नु पत्रकारिताको अपमान मात्र होइन, प्रेस आचारसंहिताको उल्लङ्घन पनि हो, जसको म घोर भत्र्सना गर्दछु,’ उनले भनेकी छन् ।
त्यति मात्र होइन उनले वैवाहिक कार्यक्रममा रमाइलो गर्दा आफूमाथि प्रश्न उठाइएको भन्दै पुरुषले मात्रै रमाइलो गर्न पाउने हो भन्दै प्रश्न समेत गरेकी छिन् । साथै उक्त नृत्य र आफूले गरेको रमाइलोलाई खिल्ली उडाएको भन्दै त्यसलाई पितृ सत्तात्मक सोचको उपज रहेको समेट टिप्पणी गरिन् । ‘वैवाहिक कार्यक्रममा वा अन्य कुनै समारोहमा रमाइलो गर्ने वा मनोरञ्जन गर्ने अधिकार के पुरुषहरुको मात्रै हो ? महिलाले एक छिन नृत्य गर्दा वा रमाइलो गर्दा आकाश नै खसेकोजस्तो सोच्ने पितृसत्तात्मक मानसिकताप्रति म गहिरो खेद प्रकट गर्दछु,’ उनले भनेकी छिन् ।
उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई सोधपुछ समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया