प्रधानमन्त्रीसमक्ष एकीकृत समाजवादीले बुझायो मागपत्र (पूर्णपाठ)

लोकपथ
2.7k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई विभिन्न मागसहितको पत्र बुझाएका हुन् । 

एकीकृत समाजवादीले अपमानपूर्ण इतिहासलाई बदल्न, राजनीतिका नालायकीबाट शिक्षा लिन, बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भइसकेको पत्रमा उल्लेख गरेको छ । 

यस्तै उक्त कारणले आजको राजनीतिक अस्थिरता, अन्योल, निराशा, उकुसमुकुस र आक्रोश उत्पन्न भएको समेत पत्रमा व्यक्त गरेको छ । 

पार्टीले समयको मागलाई दृष्टिगत गर्दै ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नाराका साथ विभिन्न बुँदामा प्रस्ताव अगाडि सारेको हो । एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीसमक्ष बुझाएको पत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पूर्वाधार, सुशासन, सामाजिक, विदेश नीति, प्रवासी श्रमिक र गैर आवासीय नेपाली लगायतका शीर्षकमा विभिन्न माग राखिएको छ । 

यस्तै एकीकृत समाजवादी संविधान कार्यान्वयनको पुनरावलोकन, रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन आयोजना गर्नुपर्ने लगायतका माग राखेको छ । शासकीय स्वरूप, संघीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका दश वर्षको पुनरावलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गर्नुपर्ने माग समेत पार्टीले राखेको छ । 

प्रधानमन्त्री ओलीलाई मागसहितको ज्ञापन पत्र बुझाएपछि पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले जनताहरू कुशासनको जाँतोमा पिल्सिएको भन्दै जतासुकै भ्रष्टाचार, घुस खोरी, अनियमितता र ढिलासुस्ती कारण नागरिकले सास्ती भोग्नुपरेको बताए । 

उनले कुशासनले मानिसहरूलाई निकै धेरै यातना दिएको बताउँदै कुशासनको जज्ञ्जिरबाट नागरिकलाई मुक्त गर्नुपर्नेमा जोड दिए । उनले कुशासनको जाँतोमा किचिएका जनताहरूलाई त्यसबाट मुक्त गर्न राज्य, सरकार र प्रधानमन्त्री संवेदनशील हुनुपर्ने बताउँदै जनतालाई सुशासन दिनुपर्ने बताए । 

उपाध्यक्ष ज्वालाले व्यापक रूपमा फैलिएको भ्रष्टाचारको जालोलाई तोडेर नागरिकलाई सुशासन, शान्ति र अमन चयनको अनुभूति गराउन आफ्नो तर्फबाट सरकारलाई सहयोग गर्ने जिकिर गरे । 

उनले भने, ‘जनताहरू कुशासनको जाँतोमा यति धेरै किचिएका छन्, यति धेरै पिल्सिएका छन् । जतासुकै भ्रष्टाचार, घुस खोरी अनियमितता छ, ढिलासुस्ती छ, हरेक ठाउँमा मान्छेहरूले सास्ती भोग्नुपरेको छ । कुशासनले मानिसहरूलाई निकै धेरै यातना दिएको छ । त्यसैले कुशासनको जनझिरबाट मान्छेलाई मुक्त गर्नुपर्‍यो। राज्य त्यसमा सिरियस हुनुपर्‍यो । प्रधानमन्त्री, सरकार त्यो कुरामा सिरियस हुनुपर्‍यो । जनतालाई सुशासन दिनुपर्‍यो । व्यापक रूपमा भएको भ्रष्टाचारको जुन जालो छ, त्यसलाई तोड्नको निम्ति भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्‍यो । घुस खोर, तस्करहरू, नाफाखोरहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्‍यो । जनताले सुशासन, शान्ति र अमन चयनको अनुभूति गर्न सकुन् । त्यसमा हामी पनि हाम्रोतर्फबाट सहयोग गर्छौँ ।’

उपाध्यक्ष ज्वालाले प्रधानमन्त्रीले आफूहरूका मागप्रति चासो देखाएको बताए । उनले ती मागहरूलाई सम्बोधन गर्ने समेत प्रतिबद्धता जाहेर गरेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?