काठमाडौं । सर्वोच्च अदालतको अनाधिकृत पत्रपछि पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी थुनामुक्त भएका छन् ।
केहीबेरअघि चौधरी थुनामुक्त भइ डिल्लीबजार कारागारबाट बाहिरिएका छन् ।
सर्वोच्च अदालतको रिट तथा मुद्दा महाशाखामा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्टले अनाधिकृत पत्र पठाएपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो ।
टीकापुर घटनामा दोषी देखिए पनि राष्ट्रपतिको आममाफीपछि छुटेका चौधरीलाई पुरानो फैसला कार्यान्वयनका लागि भन्दै पक्राउ गर्न विष्टले पत्र लेखेका थिए । आफूखुसी पत्र लेखेको पाइएपछि पक्राउ गरी विष्टमाथि समेत अनुसन्धान भइरहेको छ ।
सर्वोच्च अदालतले उक्त पत्र अनाधिकृत भएको र चौधरीलाई तत्काल छाड्न डिल्लीबजार कारागारलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा आवश्यक प्रक्रिया पुर्याइ चौधरीलाई छाडिएको हो ।
‘…पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौँली गाविस वडा नं ८ हाल जानकी गाउँपालिका वडा नं ६ घर भएका लालविर चौधरीका छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद/वा थुनामुक्त गरिदिुनुहुन अनुरोध छ,’ पत्रमा भनिएको छ ।
यता रेशमलाई थुनामा पठाउने विष्टलाई सर्वोच्च प्रशासनले जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया