काठमाडाैं । सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्ट पटक पटक विवादमा आइरहने पात्र हुन् । उनी सिन्धुपाल्चोकमा गाविस सचिव हुँदादेखि नै विवादमा आएका पात्र हुन् भने नुवाकोटमा स्रेस्तेदार हुँदा र कञ्चनपुरमा तहसिलदार हुँदासमेत विवादमा मुछिएका थिए ।
विष्टले विभिन्न कालखण्डमा गरेका केही विवादित घटना यस्ता छन् ।
गाविस अध्यक्षलाई सरुवाको धम्की !
सर्वोच्च अदालतमा सेवा प्रवेश गर्नुअघि विष्ट नायब सुब्बाका रूपमा सिन्धुपाल्चोकको एक गाउँ विकास समितिमा गाविस सचिव रहेका थिए । गाविस सचिव रहँदा सोही गाविसका अध्यक्षसँग विवाद भयो । विवाद बढेपछि विष्टले गाविस अध्यक्षलाई नै सरुवा गरिदिन्छु भनी धम्की दिएको चर्चा सर्वोच्च अदालतमा अझै छ । पछि ती गाविस अध्यक्ष डराएर सरुवा गराउन मिल्छ र ? भन्दै जिल्ला विकास समितिसम्म पुगेका थिए ।
नुवाकोटमा न्यायाधीश र कर्मचारीसँग लफडा
सिन्धुपाल्चोकमा मात्रै होइन, विष्ट नुवाकोटमा हुँदा समेत न्यायाधीश र कर्मचारीसँग विवादमा मुछिएका थिए । आफू बिहानै कार्यालयमा आउने भएकाले अन्य कर्मचारी पनि कार्यालय समय अगावै कार्यालयमा आउनु पर्ने भन्दै धम्काउन थालेपछि पुराना कर्मचारीले राजीनामा समेत बुझाएका थिए । त्यसबाहेक तत्कालीन जिल्ला न्यायाधीश लोकजंग शाहसँग समेत विवादमा मुछिएका थिए ।
सेवाग्राही महिलालाई न्यायाधीश आफैँले फोन गरी मुद्दा जिताइदिन्छु भनी यौन सम्पर्क गर्न बोलाएको भन्दै विष्टले उजुरी गरेका थिए भने पैसा खाएर मुद्दाको जित हार गराएको आरोप लगाएका थिए । न्यायाधीश र अन्य कर्मचारीसँग नै विवाद बढेपछि सर्वोच्च अदालतले विष्टको सरुवा गराएको थियो । पछि जिल्ला न्यायाधीश लोकजंग शाहलाई समेत न्याय परिषदले बर्खास्त गरेको थियो ।
कञ्चनपुरमा समेत लफडा, त्यसपछि सर्वोच्च तानिए
नायब सुब्बाबाट शाखा अधिकृत भई नुवाकोटमा स्रेस्तेदार बनेका विष्ट पछि कञ्चनपुर जिल्लामा तहसिलदार बनेर गएका थिए । दुई वर्ष अगाडि उनी कञ्चनपुरको तहसिलदार बन्दा स्रेस्तेदार बिदामा रहेको समयमा निमित्त स्रेस्तेदार रहेका थिए । सोही समयमा एक कानुन व्यवसायीले ल्याएको निवेदन दरपिठ गरेपछि उनी फेरि विवादमा तानिएका थिए । कञ्चनपुर जिल्ला अदालत बारले विष्टको सम्बन्धमा विज्ञप्ति नै निकालेर विरोध गरेपछि सर्वोच्च अदालतले विष्टलाई कञ्चनपुरबाट तानेर सर्वोच्च अदालतमा काजमा राखेको थियो ।
तर बुधबार फेरि यिनै विष्टले अर्को काण्ड गरे
सर्वोच्च अदालत प्रशासन र आफ्नै महाशाखा प्रमुखसँग समेत समन्वय नगरी विष्टले रेशमलाल चौधरीलाई पक्राउ गर्न पत्र लेखेपछि उनी फेरि विवादमा आएका छन् । तर यस पटकको विवाद सामान्य विवाद नभएर जटिल प्रकृतिको विवाद रहेको र क्षेत्राधिकार नाघेको कारण उनीमाथि कारबाही गर्ने तयारी गरिएको छ ।

अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेको समयमा उनले रेशम चौधरीलाई थुनामा राख्न भन्दै पत्र मात्रै काटेनन्, राष्ट्रपतिले अपराधको राजनीतिकरण गरेको आरोपसमेत लगाए । अनि कैलाली जिल्ला अदालतबाट कैदी पुर्जी आउँदै गर्छ, अहिले चाहिँ थुनामा राख्नु भन्दै पत्र लेखेपछि उनीमाथि नै छानबिन र कारबाहीको तयारी गरिएको छ । विष्टलाई यति बेला सर्वोच्च अदालतमै होल्डमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया