एक महिनादेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध

लोकपथ
63
Shares

हुम्ला । हुम्लाको मध्येभेगमा रहेको सर्केगाड गाउँपालिकामा लामो समयदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । सर्केगाड गाउँपालिका–५ स्थित कुती गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा एक महिनादेखि सेवा अवरुद्ध भएको स्थानीय बताउँछन् । 

एक महिनादेखि टेलिफोनले काम नगर्दा सर्केगाड–५, ६ र ४ का सर्वसाधारण, स्वास्थ्यकर्मी, विभिन्न पेसा, व्यवसायमा संलग्नहरूलाई सञ्चारमा सास्ती भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख किरण बुढाथोकीले बताए। मोबाइलमा नेटवर्क देखाए पनि फोन नलाग्ने, सन्देश (म्यासेज) नजानेलगायत समस्या देखिने गरेको उनको भनाइ छ ।

यति बेला सर्केगाडमा रहेका प्रत्येक स्वास्थ्य संस्थामा खोपसहित अन्य स्वास्थ्यका गतिविधि बढिरहेका बेला टेलिफोनले काम नगर्दा स्वास्थ्यकर्मीसँग जानकारी लिन नसकिएको शाखा प्रमुख बुढाथोकीको गुनासो छ । टेलिफोन नहुँदा कतै जटिल प्रकृतिका बिरामी आएमा सम्पर्क गर्न गाह्रो भएको छ । 

इन्टरनेट सेवा सबै वडाका दुर्गम गाउँ तथा स्वास्थ्य संस्थामा जडान नभएकाले फोनबाट छिटो र छरितो जानकारी लिनुपर्नेमा समस्या बनाएको उनले बताए । टेलिफोन सेवा अवरुद्ध भएको विषयमा सबैलाई जानकारी गराउँदा कोही कसैले वास्ता नगरेको बुढाथोकीले गुनासो गरे । 

पालिकाको केन्द्र सर्केगाडसहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको गेटबहादुर थापाले बताए । महिना दिनदेखि टेलिफोन सेवाले काम नगरेपछि जिल्लाभित्र र बाहिर रहेका आफन्तसँग सम्पर्क विच्छेद हुनुका साथै सरकारी काम पनि प्रभावित बनेको उनको भनाइ छ ।

टेलिफोन टावर मर्मत गरी सञ्चालनमा ल्याउन गाउँपालिका, दूरसञ्चार कार्यालयलगायत सम्बन्धित कार्यालयले चासो नदिँदा सास्ती भएको स्थानीयको गुनासो छ ।

सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध भएको विषयमा मङ्गलबार मात्रै दूरसञ्चार कार्यालय सिमकोटमा जानकारी आएको कार्यालयका निमित्त प्रमुख रञ्जीन लामाले बताए । त्यहाँका सेवाग्राहीले भनेजस्तो महिना होइन केही समयअघि मात्रै टावरमा खराबी आएको हुनसक्ने उनको भनाइ छ ।

निमित्त प्रमुख लामाले सर्केगाडमा टेलिफोन सेवा केन्द्रीय कार्यालयमा रहेको प्रणालीबाटै आउने जाने गरेको जानकारी प्राप्त भएको बताए । ‘तत्काल समस्या समाधान नभए सिमकोट कार्यालयबाट प्राविधिक कर्मचारी पठाएर मर्मत गर्नेछौँ, ‘उनले भने।

सोलार सञ्चिति नपुगेकाले पनि टेलिफोन सेवा अवरुद्ध भएको हुनसक्ने प्रमुख लामाले बताए । केन्द्रीय कार्यालयबाट मर्मत भइरहेको जनाउँदै समस्या समाधान नभए यहाँबाट कर्मचारी पठाइने उल्लेख गरे। 

सर्केगाडमा इलाका प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न संघसंस्थाका उपशाखा छन् भने फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषणमा समस्या बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?