काठमाडौं । सत्ता गठबन्धनले सरकार र शिक्षकहरूसँग आजै सहमति हुने विश्वास लिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार र शिक्षकहरूबिच आजै सहमति हुने विश्वास व्यक्त गरेका हुन् ।
उनले शिक्षकहरूसँगको वार्ता सकारात्मक तरिकाले अगाडी बढेको बताउँदै आज दिनभरमा सरकार र आन्दोलनरत शिक्षकबिच सहमति हुने बताए । उनले नेपाल शिक्षक महासङ्घ र सरकारबीच छलफलमा बनेको सहमतिका आधारमा आजै निचोड निस्कने र बिहीबार देखी सहज रूपमा पठनपाठन सुरु हुने विश्वास लिएको बताए ।
उनले शिक्षकहरूको मागलाई सम्बोधन गर्न सरकारले खेलाँची नगरेको समेत स्पष्ट पारे । उपमहासचिव ज्ञवालीले सरकारले सुरुदेखि नै शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षकहरूले ऐन नलिई नफर्कने अडान लिएका कारणले ढिलाइ भएको जिकिर गरे ।
उनले भने, ‘शिक्षकहरूसँगको वार्ता सकारात्मक तरिकाले अगाडी बढेको छ । आज दिनभरिमा सरकार र आन्दोलनरत शिक्षकबिच सहमति भएर भोलीदेखि सहज रूपमा पठनपाठन हुन्छ भन्नेमा मेरो विश्वास छ । नेपाल शिक्षक महासंघ र सरकारबीचको लगातारको छलफल र छलफलमा बनेको सहमतिका आधारमा मैले भनेको हुँ । सरकारले खेलाँची गरेको होइन । सुरुदेखि नै सरकारले उहाँहरूलाई वार्तामा बोलायो । विभिन्न कारणले उहाँहरू वार्तामा आउन सक्नुभएन । निवर्तमान शिक्षामन्त्रीज्युले पनि त्यो सम्बन्धमा धेरै प्रयत्नहरू गर्नुभएको थियो । शिक्षकहरूले ऐन नलिई फर्कँदैनौँ भनेर अडान लिएपछि केही ढिलाइ भएको हो । भोलिदेखि शिक्षकहरू विद्यालय फर्कनुहुन्छ भन्नेमा म आशावादी छु ।’
उनले बिहीबारदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय फर्कने र सहज रूपमा पठनपाठनको सुचारु हुने आशा व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया