काठमाडौं । प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको छ ।
चौधरीलाई बुधबार दिउँसो प्रहरीले कमलादीस्थित प्रज्ञा भवनबाट पक्राउ गरेको हो । उनी जनमतसँग पार्टी एकताका लागि प्रज्ञा भवन पुगेका थिए, सो क्रममा उनलाई डिल्लीबजार कारागार पुर्याइएको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जानकारी दिए ।
राउतले सामाजिक सञ्जालमा लेख्दै पुरानो फैसला कार्यान्वयन गर्न भन्दै पक्राउ गरिएको जनाएका छन् । साथै कार्यक्रमस्थलबाटै रेशमलाई पक्राउ गरेको विषयको घोर भर्सना गरेका छन् ।
साथै सोही कारणले आज हुने भनिएको पार्टी एकीकरण प्रक्रिया रोकिएको छ । अर्को बैठक बसेर पार्टी एकीकरणको जानकारी दिने बताउँदै उपस्थित सबैलाई घर जान आग्रह गरिएको छ ।
‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ । यसको हामी घोर भत्र्सना गर्दछौँ । यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ–आफ्नो घर जान आग्रह गरिएको छ । बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौंँ,’ उनले भनेका छन् ।
०७२ सालमा घटेको टीकापुर घटनाका मुख्य दोषी देखिएका चौधरी थुनामा रहेका थिए । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि ०८० साल जेठमा उनी थुनामुक्त भएका थिए ।
उनलाई पुरानो फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया