जनमत र नागरिक उन्मुक्तिको एकतामा अन्यौलता : प्रज्ञा भवनमा कार्यकर्ता पुगे, पुगेनन् नेता

लोकपथ
777
Shares

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबिच आज एकता हुने भनिएको थियो ।

पार्टी एकता हुने भनिएसँगै आज बिहानैबाट कमलादीस्थित प्रज्ञा भवनमा नेता कार्यकर्ताहरु पुगिरहेका थिए । तर शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटिरहेको र सहमति हुन नसक्दा एकता प्रक्रियामा अन्यौलता देखिएको छ ।

नेता कार्यकर्ताहरु त्यहाँ पुगिसक्दा पनि कार्यक्रम हुने भनिएको प्रज्ञा भनवको मुल गेट खुलेको छैन । जसकारण अन्यौलता देखिएको छ ।

त्यसो त गत मंगलबार दुवै पार्टीले छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठकमार्फत एकताको निर्णय गरेपछि आज एकीकरण घोषणा गरिने तयारी रहेको थियो ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा बिहान ११ बजे औपचारिक रूपमा एकीकरणको घोषणा गरिने बताइएको थियो ।

एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ हुने बताइएको थियो । अध्यक्षमा सिके राउत रहनेछन् भने सहअध्यक्षमा रञ्जिता श्रेष्ठ र संरक्षकका रूपमा रेशम चौधरी रहने सहमति भएको थियो । वरीयतामा चौधरी पहिलो, राउत दोस्रो र श्रेष्ठ तेस्रो स्थानमा रहने सहमति समेत भएको छ ।

पार्टीको झन्डा आयाताकार कलेजी रंगको पृष्ठभूमिमा सेतो पिँधसहितको ढकिया हुनेछ भने चुनाव चिह्न पनि ढकियै कायम राखिनेछ। केन्द्रीय समितिको आकार ७०० सदस्यीय हुने तय भएको छ।

नयाँ दलले सामुदायिक समाजवाद, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था, गैरसांसद विज्ञ मन्त्रीहरूको सहभागिता, जनप्रतिनिधिबाटै प्रधानन्यायाधीश र संवैधानिक अंगका प्रमुखहरूको चयन, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र प्रदेश प्रमुख तथा सानो आकारको प्रदेश सभा जस्ता शासकीय अवधारणाहरू अगाडि सारेको छ ।

दुई पार्टीको मिलानपछि संसद्मा १० सिट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?