काठमाडौं । २९ दिनबाट आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिबिच निरन्तर वार्ता भइरहे पनि निष्कर्ष निस्कन सकेको छैन ।
पटकपटक वार्ता हुँदा समेत सहमति नहुँदा शिक्षकहरु निरन्तर आन्दोलनमा रहेका छन् । यसअघि सरकारले विभिन्न आश्वासनहरु देखाइए पनि विस्वस्त हुने आधार नदेखेपछि शिक्षकहरु निरन्तर आन्दोलमा लागेका हुन् ।
बुधबार बिहान शिक्षक महासंघको बैठक बसेको थियो, सो बैठकले शिक्षकहरुसँग वार्ता गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ ।
बैठकपछि बोल्दै महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् ।
‘हिजो रातिकै वार्तामा शिक्षा ऐन जारी गर्न सरकार गम्भीर नदेखिएको पायौँ । त्यसैले गृहमन्त्रीले नै चेतावनीपूर्ण अभिव्यक्ति दिनुभयो । शिक्षामन्त्रीले पनि के हो यस्तो भन्ने हिसाबले कुरा गर्नुभयो । अझै पनि सरकार गम्भीर छैन,’उनले भनिन् ।
त्यस्तै आजका लागि शिक्षकहरुसँग वार्ताका लागि बोलाइएको छ । तर सरकारले गम्भीरताका साथ उक्त वार्तालाई नलिएको कारण आज पनि सहमति हुन नसक्ने उनको दाबी छ ।
‘सरकारले शिक्षा ऐन जारी गर्ने डेटलाइन दिन सकेको छैन, त्यसैले आज पनि सहमति नहुने माहोल बन्न पनि सक्छ,’ उनले भनिन् ।
त्यस्तै बैठकपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारसँग वार्ता भाँडिन सक्ने चेतावनी दिएका छन् । उनले आजको वार्ता सफल हुन्छ भन्ने ग्यारेन्टी नभएका कारण आफ्नो पूर्ववर्ती मागहरुसहित सडक आन्दोलनमा आउन आह्वान गरेका छन् ।
‘आजको वार्ता पनि सफल हुन्छ भन्ने छैन, साथीहरु । हामीले मागेका कुराहरु सरकारले दिएन भने भाँडिन सक्छ । त्यसैले सडकमा सबै साथीहरु उपस्थित हुनुहोला,’ उनले भनेका छन् ।
शिक्षा ऐन जारीको मागसहित शिक्षकहरुले गत चैत २० गतेबाट निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया