काठमाडौं । तराई-मधेसका दुई प्रमुख राजनीतिक शक्ति जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज (बुधबार) पार्टी एकता हुने भएको छ। मंगलबार दुवै पार्टीले छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठकमार्फत एकताको निर्णय गरेपछि आज एकीकरण घोषणा गरिने भएको हो ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा बिहान ११ बजे औपचारिक रूपमा एकीकरणको घोषणा गरिनेछ।
एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ हुनेछ। अध्यक्षमा सिके राउत रहनेछन् भने सहअध्यक्षमा रञ्जिता श्रेष्ठ र संरक्षकका रूपमा रेशम चौधरी रहनेछन् । वरीयतामा चौधरी पहिलो, राउत दोस्रो र श्रेष्ठ तेस्रो स्थानमा रहने सहमति भएको छ।
पार्टीको झन्डा आयाताकार कलेजी रंगको पृष्ठभूमिमा सेतो पिँधसहितको ढकिया हुनेछ भने चुनाव चिह्न पनि ढकियै कायम राखिनेछ। केन्द्रीय समितिको आकार ७०० सदस्यीय हुने तय भएको छ।
नयाँ दलले सामुदायिक समाजवाद, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था, गैरसांसद विज्ञ मन्त्रीहरूको सहभागिता, जनप्रतिनिधिबाटै प्रधानन्यायाधीश र संवैधानिक अंगका प्रमुखहरूको चयन, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र प्रदेश प्रमुख तथा सानो आकारको प्रदेश सभा जस्ता शासकीय अवधारणाहरू अगाडि सारेको छ।
एकतापछि प्रतिनिधिसभामा दलको उपस्थिति १० जना सांसदमा पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया