काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सत्याग्रहको चेतावनी दिएका छन् ।
डा. केसीले एमबीबीएस सिट संख्या एक सय रहेकोमा त्यसलाई बढाएर १५० पुर्याउन लागिएकोबारे आपत्ति जनाएका हुन् ।
आज एक विज्ञप्ति जारी गर्दै डा. केसीले एमबीबीएसको सिट संख्या बढाइए आफू सत्याग्रहमा जान बाध्य हुने चेतावनी दिए ।
‘एमबीबीएस सिट हालको संख्या भन्दा एक सिट पनि नबढाउन र निजी मेडिकल कलेजबाट श्रम शोषणबाट पीडित रेजिडेन्ट डाक्टरहरूको माग सम्बोधन गर्न र विगतमा हामीसित भएका सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्न साथै गत चैत ३१ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लिखित पहिलेदेखिकै मागहरू शीघ्रातीशीघ्र पूरा गर्न सरकार समक्ष जोडदार माग गर्दछु । अन्यथा नेपाल फर्के पश्चात् सत्याग्रह गर्न बाध्य हुने कुरा जानकारी गराउँदछु,’ उनले भनेका छन् ।
त्यसो त चिकित्सा शिक्षामा देखिएका विभिन्न समस्या समाधानको मागसहित डा. केसीले यसअघि नै पटकपटक सत्याग्रह गरिसकेका छन् ।
आफूहरुको लामो दबाबपछि चिकित्सा शिक्षा ऐन लागु भएको र त्यसैको जगमा चिकित्सा शिक्षा आयोग बनेको र राजनीतिक नेतृत्वको दबाबका कारण त्यसले राम्रो काम गर्न नसकेको समेत गुनासो गरेका छन् । साथै राजनीतिक दबाबका कारण चिकित्सा शिक्षा ऐनले काम गर्न नसकेको समेत आरोप लगाए ।
‘हामी लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार र सो क्षेत्रमा देशका कुनाकाप्चाका विपन्न वर्गदेखि सबै विद्यार्थी लगायत नागरिकहरूको समतामूलक पहुँचका लागि संघर्षरत छौँ । आम नेपालीहरूको अथक प्रयास र दबाबमा चिकित्सा शिक्षा ऐन लागु भयो चिकित्सा शिक्षा आयोग बन्यो र प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, अन्य नेता रनेत्री, कार्यकर्ता, न्यायाधीश, माफियाहरू लगायत विभिन्न स्वार्थपरक समूहको बारम्बार गैरकानुनी हस्तक्षेपका बाबजुद आयोगका पदाधिकारीहरूले सन्तोषजनक काम गरिरहेका थिए त्यसैले विद्यार्थी र आम नेपालीहरू लाभान्वित भएका थिए। आयोगमा पदाधिकारीको नेतृत्व परिवर्तनसँगै माथि उल्लिखित गलत तत्वहरूको बेलगाम र निर्लज्ज हस्तक्षेपका कारण चिकित्सा शिक्षा ऐनको अस्तित्व नै गुम्ने अवस्थामा छ। ठग, फटाहा र खुराफातको लहैलहैमा लागेर नागरिकको ठूलो तप्कालाई आफ्नो घुँडामा बन्चरो हानेको थाहा छैन,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया