कुनै किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य हुँदैन : मुख्यमन्त्री शाह

लोकपथ
567
Shares

काठमाडौं । भारत सरकारको निमन्त्रणामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर  शाह मंगलबार औपचारिक भ्रमणमा भारत प्रस्थान गरेका छन्  । 

भ्रमणमा जानुअघि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले भ्रमणका क्रममा सुदूरपश्चिमसँग सीमा जोडिएका जिल्लाहरुमा संस्कृति, पर्यटन, व्यापारलगायतका विषयमा छलफल हुने भए पनि कुनै सम्झौता नहुने स्पष्ट पारे । 

उनले सुदूरपश्चिम सरकारले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनका विषयमा भने छलफल हुने जानकारी दिए । कश्मिरमा भएको आतंककारी हमलाको निन्दा गर्दै कुनै पनि किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य नहुने बताए ।  

उनले भने, ‘भर्खरै भारतमा भएको आतंककारी घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु । र कुनै पनि किसिमको आतंककारी गतिविधिमा विशेष गरी नेपाल, नेपाली सरकार, नेपाली जनता त्यो कुरा स्वीकार्न तयार छैन । यो सन्दर्भमा समग्र विश्व र भारत सरकारपनि यो दिशामा अगाडी बढेको महसुस गरेको छु । म मृतकहरूप्रति श्रद्धासुमन पनि व्यक्त गर्न चाहन्छु । र यस्ता घटनाहरू नहुनका लागि सबै सचेत हुनु जरुरी छ, सबै एकताबद्ध भएर अघि बढ्नु जरुरी छ । संघीय संरचना निर्माणपछि भारत सरकारले आमन्त्रण गरेको छ त्यसप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

मुख्यमन्त्री शाहले नेपाल र भारतबिच घनिष्ट सम्बन्धका साथै ऐतिहासिक, धार्मिक र भौगोलिक सांस्कृतिक रूपमा पनि जोडिएकाले धेरै कुरा आदान प्रदानमा भ्रमण उपलब्धिमूलक हुने बताए । प्रदेश सरकारलाई सम्झौता गर्ने अधिकार नरहेकाले भारत सरकारसँग कुनै सम्झौता नहुने पनि जानकारी दिए । उनले भ्रमणका क्रममा स्थानीय सरकारबीचको सम्बन्ध सुधार हुने बताए । 

भ्रमणका क्रममा राजनीतिक भेटवार्ता नहुने तर सरकार-सरकारबीच विभिन्न विषयमा छलफल हुने जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?