संसदमा प्रेम आलेको स्पष्टीकरण– ‘मैले त्यो मुन्छे भनेको थिएँ, तर…’

लोकपथ
2.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफूले बोल्दै नबोलेको कुरालाई तोडमोड गरिएको भन्दै आपत्ति जनाएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका आलेले सो विषयमा स्पष्टीकरण दिएका हुन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लक्षित गर्दैै कटाक्ष गरेका थिए ।

सो क्रममा उनले भनेका थिए,‘पार्टीको दबाब झेल्न नसकेर त्यो मुन्छेलाई डिजी बनाइएयो ।’ सांसद आलेले आफूले अपशब्द नबोलेको भन्दै आजको बैठकमा स्पष्टीकरण दिएका हुन् । पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा भएको अनियमितताको विषयमा महानिर्देशक अधिकारीमाथि प्रश्न उठेको छ ।

यस्तो छ आलेको स्पष्टीकरण :
हिजो मैले संसद्मा बोलेको शब्दलाई राम्रोसँग नसुनिकन आज प्रकाशित समाचारमा मैले बोलेको शब्दलाई अश्लिल शब्द भन्दै समाचार संप्रेषण भएकोमा मेरा गम्भीर ध्यानाकर्षण भएको छ ।

सभामुख महोदय, यो समाचार जुनसुकै मिडियाबाट आएको भए पनि राम्रोसँग सुनेर मात्रै समाचार संप्रेषण गर्न म अनुरोध पनि गर्न चाहन्छु । हिजो मैले संसद्मा कुरा राखिरहँदा पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो भनेर भनेको थिएँ । तर त्यसलाई तोडमोड गरेर राज्यको चौथोँ अंग भन्ने सञ्चारमाध्यमले सूचना प्रकाशित गरेर यसलाई डाइभर्ट गर्ने कामहरु भएको छ । म २५ वाटको स्पीकर राखेर राम्रोसँग सुन्न पनि अनुरोध गर्न चाहन्छु । एउटा जनप्रतिनिधिको हुर्मत लिने काम भएको छ ।

त्यो हुनाले यसलाई पनि छिटो भन्दा छिटो सार्वजनिक गर्नका लागि म सम्माननीय सभामुखज्यूमार्फत् आग्रह गर्न चाहन्छु । र यस्ता विषयलाई ध्यान दिएर मात्र समाचार संप्रेषण गर्न म आग्रह गर्न चाहन्छु । मैले पटकपटक महिनौँ दिनदेखि भन्दै आएको छु कि पोखरा र भैरहवा विमानस्थलमा व्यापक भ्रष्टाचार भएको छ । त्यो कुरालाई डाइभर्ट गर्नका लागि त कतै मिडियाले यो लेखेको होइन ? यसलाई डाइभर्ट गर्नका लागि त मेरो हुर्मत लिएको त होइन ? यस्ता विषयमा ध्यान दिएर मात्रै सूचना संप्रेषण गर्न आग्रह गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?