काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ ।
बद्री केसी नेतृत्वको एनआरएनए उपाध्यक्ष रोजिना राईसहित ३ जनाले घलेलाई प्रतिवादी बनाएर दर्ता गरेको मुद्दाको पेसी आज मंगलबार न्यायाधीश रेग्मीको इजलासमा तोकिएको हो ।
रिट निवेदनमा सर्वोच्च अदालतले गत साउनमा दिएको फैसलाविपरीत गतिविधि गरेर अदालतको अवहेलना गरेको जिकिर गरिएको छ ।
एनआरएनएको विवादका सम्बन्धमा सर्वोच्च अदालतले २०८० चैतमा एकताको महाधिवेशन गर्न परमादेश दिएको आधारमा परराष्ट्र मन्त्रालयले ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीलाई काम गर्न रोक लगाएको थियो । त्यसपछि उनी अदालत पुगेका थिए । सो मुद्दामा सर्वोच्चले गत साउनमा फैसला गर्दै कामकाज गर्ने बाटो खुला गरिदिएको थियो ।
त्यसपछि केसीले आफू आधिकारिक रहेको जिकिर गर्दै आएपनि घलेले एकता महाधिवेशनको प्रक्रिया अघि बढाएका थिए । जसअनुसार घलेले एकताको महाधिवेशन वैशाख २० देखि काठमाडौंमा तय गरेपछि थप दुई वटा मुद्दा अदालतमा विचाराधीन छ ।
सो मुद्दाको पनि आजै न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा पेसी तोकिएको छ । जुन मुद्दामा एक मुद्दा एकताको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने भन्ने रहेको छ भने अर्कोचाहिँ सार्न माग गर्दै दायर भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया