गगन थापाविरुद्धको अपहेलना मुद्दा के हो ? एकैपटक आज सपना प्रधान र पाण्डेको संयुक्त इजलासमा 

लोकपथ
329
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा आज मंगलबार एकैपटक संयुक्त इजलासमा परेको छ ।

अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र अभिमा उप्रेतीले आइतबार थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए । अवहेलना निवेदनमा सर्वोच्च प्रशासनले आज मंगलबारको पेसी दिएको थियो । 

अदालतको अवहेलनामा थापाविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको इजलासको पहिलो नम्बरमा छ ।

थापाले गत बिहीबार ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए । लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा उनले आयोगका पदाधिकारीहरूको कार्यकाल सकिन लाग्दा पनि मुद्दाको टुंगो नलगाई डिल गरेको अभिव्यक्ति दिएका थिए ।

उनले भनेका थिए, ’आइतबार हेरुम, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्‍यो अब त्यसको विश्वसनीयता के रहन्छ ? दुई/तीन वर्षदेखि तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले हेर्न नभ्याइने भन्छ । कहिले भोलि हेर्ने भन्छ,  त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ ।’ 

थापाले उक्त अभिव्यक्ति दिई अदालतको अवहेलना गरेको भन्दै अधिवक्तात्रयले सर्वोच्चमा अदालतको अवहेलनामा निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?