शिक्षक आन्दोलनमा पुगेर झलनाथको चुनौती– ‘सरकार ठूलो आन्दोलनको पर्खाइमा बसे हुन्छ’

लोकपथ
455
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले २७औँ दिनबाट आन्दोलित शिक्षकहरुको आवाज सुन्न सरकारसँग माग गरेका छन् ।

आज आन्दोलनरत शिक्षकहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै एकीकृत समाजवादीका वरिष्ठ नेता समेत रहेका खनालले सो कुरा बताएका हुन् ।

‘शिक्षकहरुको झण्डै एक महिनादेखिको आन्दोलनको मागलाई समेत नसुनिकन जसरी तानाशाही दमनचक्रमा उत्रिन खोजिरहेको छ सरकार यसको घनाघोर भर्त्सना गर्दछौँ, विरोध गर्दछौँ,’ उनले भनेका छन् ।

त्यस्तै शिक्षकहरुको मागलाई पहिलो प्राथमिकतामा राखेर पूरा गर्नुपर्नेमा बेवास्ता गरिँदा भोलिका दिनहरुमा आन्दोलन थप चर्किने बताए । साथै छिटो भन्दा छिटो माग पूरा नभएमा अझ ठूला आन्दोलन हुने र त्यसमा आफूहरुले समेत साथ दिने बताए ।

‘शिक्षकहरु भनेको यो देशका बालबालिकाहरुलाई शिक्षित बनाउने गुरुहरु हो, गुरुआमाहरु हो । उहाँहरुको मागलाई यो सरकारले पहिलो प्राथमिकताका साथ पूरा गर्नुपर्छ । अन्यथा यो भन्दा ठूलो आन्दोलनको प्रतिक्षामा बसोस् सरकार म चुनौती दिन चाहन्छु,’ उनले भने ।

त्यस्तै शिक्षकहरुको आन्दोलनप्रति कटाक्ष गर्ने एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको भनाइप्रति समेत खण्डन गरेका छन् । केही दिनअघि झाँक्रीले शिक्षक आन्दोलनप्रति कटाक्ष गरेकी थिइन् । सोही विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले झाँक्रीको अभिव्यक्ति गलत रहेको बताउँदै सिँगो पार्टीले शिक्षक आन्दोलनलाई साथ रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?