काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबिचको झडपको क्रममा घाइते भएकी पत्रकार सविना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिनको लागि पानीको फोहोरा प्रहार गरेपछि प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए ।
सोही समयमा समाचार संकलनको लागि पुगेकी प्राइम टाइम्स टेलिभिजनकी पत्रकार कार्की घाइते भएकी हुन् । उनलाई प्रहरीले अस्पताल पुर्याएको थियो । चोटको कारणले कार्कीको दुवै आँखाको लेन्सहरू सुन्निएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
घाइते कार्कीले समाचार संकलनको क्रममा पानीको फोहोराले एक्कासि अनुहारमा लागेको बताइन् । उनले आफू ढलेपछि एक शिक्षिकाले प्रहरीलाई खबर गरेपछि प्रहरीले उपचारको लागि अस्पताल पुर्याएको बताइन् ।
उनले भनिन, ‘पानीको फोहोरा एक्कासि आयो । म छेउ तिरै थिए । एक्कासि अनुहारमा लाग्यो । म ढलेँ । एक जना शिक्षिका आएर प्रहरीलाई खबर गरिदिनुभयो । त्यसपछि अस्पताल लैजानुभयो । दाहिने आँखाले देख्दै देख्दैन । देब्रे आँखाले हेर्न मिल्छ । दाहिने आँखा खोल्नै मिल्दैन ।’
उपचारमा संलग्न डा। सिभान्त श्रेष्ठकाअनुसार आँखाभित्र रगत जमेको कारणले भिजन एकदमै कम रहेको हो । चोटको कारण आँखाको प्रेसर पनि बढेको उनले बताए । घाइते पत्रकार कार्कीलाई भेट्न नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहालको टोली अस्पताल पुगेका थिए । पत्रकार महासंघले पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार निन्दनीय र खेदजनक रहेको बताएको छ । महासंघले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया