काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले जिम्मेवार तहमा बसेकाहरुले नै शिक्षकहरूलाई गलत बाटोमा हिँड्न प्रेरित गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो आरोप लगाएका हुन् । उनले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई लक्षित गर्दै आफ्नो राजनीतिक रोटी सेक्नको लागि शिक्षकहरूलाई उत्तेजित पार्ने काम गरिएको टिप्पणी गरे ।
उनले हिजो सरकारको नेतृत्वमा रहँदा शिक्षकहरूसँग सहमति गरेर कार्यान्वयन नगरी वर्तमान सरकारमाथि दोष थुपार्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गरे । उनले शिक्षाभित्रका सारा समस्याहरू वर्तमान सरकार र वर्तमान प्रधानमन्त्रीको कारण भएको हो जस्तै गरी जनतामा भ्रम पार्ने कामहरू भइरहेको बताए ।
उनले भने, ‘आफ्नो राजनीतिक रोटि सेक्नको लागि शिक्षकहरूलाई उत्तेजित पार्ने, आन्दोलन नछोड्नुस्, सडक तताउनुस्, विद्यालय नफर्किनुस् जस्ता जिम्मेवार तहमा रहेका नेतृत्वहरुले जुन अभिव्यक्ति दिइरहनु भएको छ । यसले कतै शिक्षकहरूलाई गलत बाटोमा हिँड्नको लागि उत्प्रेरित त गरिरहनुभएको छैन ? हिजो सरकारको नेतृत्वमा आफू रहने, आफैँ बसेर शिक्षकहरूसँग सहमति गर्ने, अनि त्यो सहमतिलाई कार्यान्वयन नगर्ने । अनि शिक्षाभित्रका सारा समस्याहरू वर्तमान सरकारले गर्दा आएको हो, वर्तमान प्रधानमन्त्रीको कारण भएको हो जस्तै गरी जनतामा भ्रम पार्ने कामहरू भइरहेका छन् । यसरी जनतामा भ्रम पार्ने हैसियत राख्दैन ।’
शिक्षकका जायज मागहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै जनतामा भ्रम पार्ने काम नगर्न समेत आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया