देउवासँगको प्रत्यक्ष भेटवार्तापछि सत्ता नढल्नेमा प्रधानमन्त्री ओली ढुक्क, बिहीबारभित्र गभर्नर नियुक्ति

लोकपथ
2.7k
Shares

काठमाडौं । सत्ता ढल्ने चर्चाले संशयमा परेका प्रधानमन्त्री केपी शर्मा ओली सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैंककबाट फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई दिएको अभिव्यक्ति र शनिबारको भेटवार्तापछि ढुक्क भएका छन् । ‘वेटिङ प्रधानमन्त्री’ समेत रहेका देउवा उपचारका लागि थाइल्यान्ड गएलगत्तै नेपालको सत्ता राजनीतिलाई लिएर प्रश्न उठिरहेको थियो । देउवा फर्किएपछि सत्ता राजनीति तलमाथि हुनसक्ने भनी निरन्तर आएका समाचारले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको मथिङ्गल बिगार्ने काम गरेको थियो । 

विशेषगरी प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकक जानुअघि आफूलाई देउवाले फोनमा ‘आएपछि भेटौँला’ भनेको दाबी गर्दै देउवा फर्किएपछि समीकरण बदलिने सक्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । दाहालको अभिव्यक्ति र कांग्रेसभित्र प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति चुलिँदै गएको असन्तुष्टिलाई लिएर एमालेभित्र र स्वयं प्रधानमन्त्री ओलीमा समेत संशय पैदा भएको थियो ।

वैशाख ७ मा बैंकक गएका देउवा ६ दिनपछि शुक्रबार फर्केका थिए । त्यसै दिन उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग सत्ता गठबन्धनमा तलमाथि केही नहुने अभिव्यक्ति दिएका थिए । बैंककमा रहेका बेलासमेत देउवासँग निरन्तर टेलिफोन सम्पर्कमा रहेका प्रधानमन्त्री ओलीले उनी काठमाडौं ओर्लेलगत्तै पनि देउवासँग टेलिफोन कुराकानी गरेका थिए । यतिमा पनि चित्त नबुझाएका ओलीले शनिबार एक्लाएक्लै र आफ्ना विश्वासपात्रलाई अगाडि राखेर देउवासँग प्रत्यक्ष कुराकानी गरेका थिए । 

देउवासँगको प्रत्यक्ष भेटअघि प्रधानमन्त्री ओलीले गरेको फोन संवादमा देउवाले यो सरकारको विकल्प नभएको प्रतिबद्धता दोहोर्‍याएका थिए ।  देउवाको यो आश्वासनले ढुक्क भएका ओलीले शनिबार एमाले संसदीय दलको बैठकमा सरकार नढल्ने दाबी गर्दै भनेका थिए, ‘कांग्रेस–एमाले गठबन्धन कुनै हालतमा टुट्ने छैन ।’

बैठकमा उनले सरकारका बारेमा अनावश्यक हल्ला फैलाइएको र गठबन्धनमा कुनै समस्या नभएको प्रस्ट पारेका थिए । ‘अहिलेको परिस्थितिबारे धेरै भन्नु आवश्यक छैन, हिजोसम्म आगो बाल्न खोजेका थिए, शेरबहादुर देउवाजी फर्किएर आउँदा सरकार ढल्छ कि भन्नेजस्तो हल्ला फिँजाइएको थियो,’ एमाले संसदीय दलको बैठकमा ओलीले. भनेका थिए, ‘देउवाजी एयरपोर्टबाट ओर्लिनेबित्तिकै यो सरकार ढल्छ कि भन्ने शैलीमा हल्ला फैलाइयो । ढल्यो, ढल्यो, ढल्यो भन्दै हल्ला गरियो । तर शेरबहादुरजी आइपुगेपछि केही भएन त ।’

एमाले संसदीय दलको बैठकपछि शनिबार साँझ भने ओली र देउवाबिच एक्लाएक्लै र सहयोगीका बीच दुई घण्टा लामो छलफल भएको थियो । भेटमा दुई दलीय समीकरणलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको समाचार बाहिरिएका छन् । शिक्षकले राजधानीमा केन्द्रित गरेको आन्दोलनलाई निकास दिने विषयमा समेत उनीहरूबिच छलफल भएको बताइएको छ । छलफलमा गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त सहभागी थिए । 

स्रोतका अनुसार, प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच यसै साता नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमतिसमेत भएको बताइएको छ ।  ‘उहाँहरूबिच यसै साता गभर्नर नियुक्तिको विषय टुंग्याउने सहमति भएको छ,’ स्रोतले भन्यो, ‘सम्भवतः आगामी बिहीबारसम्म नयाँ गभर्नर नियुक्त भइसक्नेछन् ।’

ओली र देउवा यसअघि नै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन सहमत भइसकेका छन् ।

गभर्नर नियुक्तिका लागि सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य सहेको सिफारिस समिति गठन गरेको भए पनि सिफारिस समितिका सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा र भट्टको नामलाई लिएर सर्वोच्चमा रिट दायर भएपछि गभर्नरको नियुक्ति नै गिजोलिएको अवस्था छ । 

स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको रिक्त पदमा एक सदस्य नियुक्त गर्ने सहमतिसमेत भएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?