काठमाडौं । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा एउटा ट्रक अनियन्त्रित भएर होटलभित्र छिर्दा सो होटल पूर्णरुपमा भत्किएको छ भने अर्को एउटा होटलमा सामान्य क्षति पुगेको छ ।
आज बिहान ना ५ ख ८६७१ नम्बरको ट्रकको ब्रेक फेल भएर अनियन्त्रित ट्रकले विनानाथ पाध्यले सञ्चालन गरेको धौलागिरी होटल एन्ड लजमा छिर्दा सो होटल पूर्ण रूपमा भत्किएको हो । सँगै रहेको पवन लम्सालले सञ्चालन गरेको होटलमा समेत आंशिक क्षति पुगेको छ ।
पूर्वी नवलपरासीका डिएसपी मधु नेपालका अनुसार मार्बल बोकेको सो ट्रक नारायणगढबाट बुटवल जाँदै थियो । उनले ब्रेक फेल भएपछि ट्रक अनियन्त्रित भएर होटलभित्र छिरेको बताए ।
घटनामा मानवीय क्षति भने नभएको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ । ट्रकका चालक र सहचालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया