काठमाडौं । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आज देशभर आमाप्रति श्रद्धा, सम्मान र प्रेम प्रकट गर्दै आमाको मुख हेर्ने पर्व मनाइँदैछ । हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यस पर्वमा सन्तानहरूले आमालाई मिठा खानेकुरा खान दिई, नयाँ लुगा लगाई, आशीर्वाद लिने परम्परा रहिआएको छ ।
शास्त्र अनुसार, उपाध्याय, आचार्य र पिताभन्दा पनि आमाको स्थान ठूलो हुने उल्लेख गरिएको छ । धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य डा. देवमणि भट्टराईका अनुसार, जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने मान्यतासँगै जन्मदात्री आमालाई विशेष स्थान दिइएको छ । उनले भने ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने वैदिक उक्ति आमाको महत्त्व स्पष्ट गर्छ ।
जीवित आमालाई मिठा भोजन र नयाँ लुगा दिएर खुसी बनाउने चलन रहेको छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा सिदादान गर्ने प्रचलन छ । वैशाख कृष्ण औँसीमा दिवङ्गत आमालाई तर्पण गर्दा उनीहरूको आत्माले आशीर्वाद दिने धार्मिक विश्वास रहेको डा. भट्टराई बताउँछन् ।
यसै अवसरमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थमा विशेष मेला पनि आयोजना भइरहेको छ। नगरप्रमुख घनश्याम गिरीका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। यद्यपि, यस वर्ष गुरु अस्त र केही देशमा सूर्यग्रहण देखिनुका कारण आमाको मुख हेर्न नहुने भनी फैलिएको हल्लालाई समितिले गलत भन्दै खण्डन गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया