प्रचण्डलक्षित ओलीको टिप्पणी : ‘देउवाजीले सरकार ढल्दैन भनेपछि पुर्पुरोमा हात लगाएर खुई गर्दै बसेका छन्’

लोकपथ
1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला गर्नेहरू पुर्पुरोमा हात लगाउन थालेको बताएका छन् ।  शनिबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आए लगत्तै सरकार ढल्छ भन्ने गरेकोप्रति लक्षित गर्दै अहिले पुर्पुरोमा हात लगाएर बस्ने गरेको टिप्पणी गरे । 

उनले सरकार परिवर्तनको हल्ला फिँजाउन जरुरी नरहेको भन्दै मिसन २०८४ मा लाग्न पार्टीका नेता/कार्यकर्ताहरूसँग आग्रह गरे । विमानस्थलमा सभापति देउवाले सरकार ढल्दैन भनेसँगै अहिले पुर्पुरोमा हात लगाएर सुस्केरा हाल्दै बस्ने गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको परिस्थितिको बारेमा मैले केही भन्नुपर्छ जस्तो लाग्दैन । हिजोसम्म आगै बाल्न खोजेका थिए । शेरबहादुर देउवाजी फर्किएर आउने बित्तिकै सरकार ढल्छ, भनेर एयरपोर्टबाटै पो ढल्छ की, आइपुग्ने बित्तिकै, ओर्लिने बित्तिकै ढल्छ की जस्तै पारेका थिए । ढल्यो, ढल्यो, ढल्यो, ढल्यो, ढलिहाल्यो अब बाङ्गिसकेको छ । शेरबहादुर देउवाजी आइपुगेपछि ढलिहाल्छ भनेर । अस्तिका दिन मैले साथीहरूलाई भने यो भ्रम फिँजाउने तत्त्वहरूले हल्ला गरिरहन्छन्, भ्रम फिँजाइरहन्छन् । यसको पछाडि नकुद्नुस् है साथीहरू । काममा लाग्नुस्, मिसन ०८४ मा लाग्नुस्, चुनाव लाग्नुस् । यो सरकार ढल्दैन भन्यो, ढल्छ भन्छ फेरि अर्कोले कहाँ पुगेर । ढल्दैन भनिसकेपछि सिद्धियो नि । हामी भनिरहेका छौँ, ढल्दैन । फेरि के त्यस्ता हल्लाखोरहरुका कुराहरूका पछाडि किन कुदिरहने ? त्यस कारण मिसन ०८४ मा लाग्नुस्, चुनावमा लाग्नुस् । अहिलेदेखि चाहिने काममा लाग्नुस् । हल्लामा नलाग्नुस् । सरकार ढल्छ की रहन्छ की यसमा नलागनुस् तपाईँहरू । त्यसको जिम्मा हामीलाई छोडिदिनुस् । आफ्नो काम गर्नुस्, चुनावका पछि लाग्नुस् भनेपछि प्रधानमन्त्रीले नै आश मारिसकेछन् । भनेर त्यता व्याख्या गरे । प्रधानमन्त्रीले भनेका कुराले तरंग ल्यायो । नेपाली भाषा बुझ्दैनन् कि । त्यस कारण यस्ता कुरामा मैले भनिरहन परेन । शेरबहादुरजीले आइपुग्ने बित्तिकै हिजै जवाफ दिनुभयो । खुई गरेर, पुर्पुरामा हात लगाएर फेरि विचराहरु थचक्क बसे । हल्ला गर्नेहरू । त्यत्ति चाहिएको रहेछ । शेरबहादुरजीले सरकार ढल्दैन भन्दिएपछि खत्र्याक्कै हुँदा रहेछन्, थुचुक्कै । पुर्पुरोमा हात लगाएर । विदेशतिर कति हेर्नसक्दा भन्या ।’ प्रधानमन्त्री ओलीले नेपालको यही भूबनावटले नेपाललाई सधैँ स्वाधीन राखेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?