एमाले सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन : संसदमा गलत कुराहरूको तत्काल प्रतिवाद गर्नुस्

लोकपथ
91
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् । 

शनिबार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरूलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।  

उनले संसदमा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिए । उनले राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरू त्यस्ता कुरालाई आलोचना गर्न आग्रह गरे ।

देश भन्दा ठुलो अरू नहुने भन्दै उनले देशप्रति निष्ठा नहुने तत्त्वहरूको मुखुण्डो उतार्नुपर्ने बताए । देशभक्तिको भावनालाई, देशभक्तिका पक्षहरूलाई उजागर गर्न, जनतालाई जागरुक बनाउने कुरामा अघि बढ्न आग्रह गरे । उनले संसदमा गलत कुराहरूको तत्काल, छिटो र छरितो ढंगले प्रतिवाद गर्न निर्देशन दिए । 

प्रधानमन्त्री ओलीले भने ‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नु पर्दछ । राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरू त्यस्ता कुरालाई आलोचना गर्नुपर्दछ । त्यस्ता कुरालाई हामीले तिखै आलोचना गर्नुपर्दछ । किनभने देश भन्दा ठुलो अर्को कुरा हुँदैन । जननी जन्मभूमि, स्वर्गादपी गरियसी । स्वर्ग भन्दा पनि ठुलो भनेको देश हो । देशप्रति जसको निष्ठा छैन, त्यस्ता तत्त्वहरूलाई हामीले तिनको असली चेहरा, तिनको मुकुण्डो उतार्नुपर्छ । हामीले देशभक्तिको भावनालाई, देशभक्तिका पक्षहरूलाई उजागर गर्नुपर्दछ । जनतालाई जागरुक गर्नुपर्दछ । हाम्रो भूमिका छिटो, छरितो, तत्काल हुनुपर्दछ । तत्काल बेठिक कुराहरूको विरुद्ध बोल्ने त्यो तरिका अवलम्बन गर्नुपर्छ । बासी कुराहरूको सन्दर्भमा बोलेर त्यति अर्थ हुँदैन ।’

प्रधानमन्त्री ओलीले आज बोलिएका गलत कुराको प्रतिवाद आज नै गर्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?