पर्यटनमन्त्री पाण्डेको प्रस्ताव : ‘काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरूलाई जोडेर पदमार्ग बनाऔँ’

लोकपथ
140
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरूलाई जोडेर पदमार्ग बनाउन प्रस्ताव गरेका छन् । 

शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति ९ काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र० को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले काठमाडौंभित्र धेरै सम्पदाहरू रहेको उल्लेख गर्दै स्वयम्भू, हनुमान ढोका क्षेत्र, पाटन क्षेत्र, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रहरूका लागि छुट्टै पदमार्गको विकास गर्न जरुरी देखिएको बताए । 

यसले पर्यटकलाई निश्चित भएर घुम्न मिल्ने र सम्पदाको पनि संरक्षण हुने विश्वास व्यक्त गरे । उनले नेपालमा जतिसुकै बेला पनि ठुलो भूकम्प जानसक्ने भन्दै त्यसका लागि सचेत भएर बस्नुपर्ने बताए । उनले यसका लागि तीन तहकै सरकारले मिलेर काम गर्न जरुरी रहेको बताए । 

मन्त्री पाण्डेले भने, ‘हामी कहाँ भूकम्प जुनसुकै बेला, जति पनि ठुलो आउनसक्छ भन्ने त्यत्ति नै जोखिम छ । त्यसैले हामीले बनाउने सम्पदाहरू भूकम्प जुनसुकै बेला र जति पनि ठुलो आउनसक्छ । यसबाट जोगिनुपर्छ भन्ने कोणबाट पनि हामी सचेत हुन जरुरी छ । यसका लागि तीन तहकै सरकारहरूले मिलेर काम गर्नुपर्छ । कतिपय ठाउँहरूले पुरातत्वलाई जोगाउनका लागि हाम्रा अभ्यासहरूलाई, हाम्रा जीवनशैलीलाई पुरातात्त्विक ढंगले नै हामीले अपनाउने गरी पूर्वाधारहरू खडा गरौँ भन्ने ठान्दो रहेछ । सम्पदा जोगाउनका लागि त्यहाँ मानिसहरू गाडी पनि चलाउँदैनन् । त्यहाँ अरू कुनै भौतिक साधन, आधुनिक साधनहरू चलाएर भ्रमण पनि गर्दैनन् । हामीले सम्भव भयो भने काठमाडौंभित्र थुप्रै सम्पदाहरू छन् । स्वयम्भू, हनुमान ढोका क्षेत्र, पाटन क्षेत्र, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रहरूमा हामीले बिस्तारै यस्तो सर्किट डेभलप गरौँ । जहाँ मानिसहरू निर्बाध ढंगले हिँड्न पाओस् । पछाडिबाट गाडी आउँछ की, हर्न बजाउँछ की, छून्छ की भन्ने भय नहोस् । पैदल यात्री मात्रै हिँड्न मिल्छ भनेर एउटा सर्किटको डेभलप गर्ने काम गरौँ । काठमाडौं उपत्यकालाई सम्पदा यात्राको रूपमा, सर्किटको रूपमा विकास गर्ने हो भने यसको प्रभाव अन्य ठाउँमा पर्नेछ ।’

मन्त्री पाण्डेले नेपालको संस्कृति र प्रकृतिलाई विश्वसामु चिनाउने काम गर्न जरुरी रहेको बताए । भूकम्पपछिको पुनः निर्माणसँगै नेपालीको आस्था, धरोहर र आत्मविश्वास उठेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?