कांग्रेसले भन्यो– ‘जीडीपीको ४२ प्रतिशत ऋणभार छ, तर आत्तिहाल्नुपर्दैन’

लोकपथ
511
Shares

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालले वैदेशिक अनुदानको आशा गर्ने ठाउँ नरहेको स्पष्ट पारेका छन् ।

आजबाट सुरु भएको संघीय संसद्को छैटौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै घिमिरेले सो कुरा बताएका हुन् ।

विश्वका अन्य मुलुकहरु आफ्नै नागरिकले तिरेको कर सोही देशमा खर्च गर्नुपर्ने बाध्यतामा रहेको बताउँदै वैदेशिक अनुदानमा आशा गर्न नहुने बताए ।

साथै अहिले कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ४२ प्रतिशतसम्म वैदेशिक ऋण रहेको बताउँदै ऋण धेरै भयो भन्दैमा आत्तिहाल्नु नपर्ने दाबी गरे । साथै विभिन्न परियोजना निर्माणका लागि लिइएको ती ऋण प्रतिफलयुक्त परियोजनामा खर्च भयो या भएन भन्ने मूल्यांकन गर्नु महत्वपूर्ण रहेको बताए ।

‘आजको विश्वमा सम्बन्धित देशका करदाताले तिरेको कर सोही देशको हितमा खर्च गर्नुपर्छ भन्ने मान्यता विकसित भइरहेको अवस्थामा हामीले पनि वैदेशिक अनुदानको धेरै आशा गरिरहनुपर्ने ठाउँ छैन । आज देशको जीडीपीको ४०–४२ प्रतिशत ऋणभार हुँदैमा आत्तिहाल्नुपर्ने अवस्था पनि छैन । तर त्यो ऋण प्रतिफलयुक्त परियोजनामा कतिको खर्च भयो, भएन यो चाँही महत्वपूर्ण कुरा हुन्छ,’ उनले भने ।

त्यस्तै अन्तर्राष्ट्रिय ऋण नबढाइ नेपालले समृद्धी हासिल गर्न नसक्ने बताउँदै स्रोत व्यवस्थापनको लागि ऋण लिइएको बताए । साथै ऋणलाई खर्च सम्झिनुभन्दा लगानी सम्झिनुपर्ने कुरामा जोड दिए ।

‘अन्तराष्ट्रिय ऋण नबढाइकन आज हामीले समृद्धी हासिल गर्न सक्दैनौँ । त्यसैले मुलुक हामीले बनाउनैपर्छ । मुलुक बनाउनका लागि स्रोत व्यवस्थापन पनि गर्नैपर्छ, स्रोत व्यवस्थापनका लागि लागेको ऋणलाई पनि खर्च नसम्झि लगानी सम्झिनु उचित हुनेछ,’ उनले भने ।

त्यस्तै उनले शान्तिप्रक्रियापछि नेपालले विकासमा फड्को मारेको समेत दाबी गरे । ०४८ सालमा गिरिजाप्रसाद नेतृत्वको सरकारले अघि सारेको आर्थिक विकासको मार्गचित्रलाई स्वीकार गर्नु आजको आवश्यक्ताको विषय रहेको समेत बताए ।

व्यवस्था परिवर्तनपछि नेपाली नागरिकले सीघ्र परिवर्तनको आशा राखिरहँदा समेत सरकारले सोही अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?