काठमाडौं । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित सत्तारुढ कांग्रेसकै जिम्मेवार नेताले आफ्नै पार्टी सम्मिलित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार फेरबदलको चर्चा तीव्र बनाइरहेका बेला प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सम्बोधन स्थगित भएको जानकारी दिए ।
आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकाले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।
आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको थियो । तर अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित हुनुलाई चासोपूर्वक हेरिएको छ ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित गरिएको बताइएको छ ।
देउवा थाइल्यान्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन् । उपचारका लागि भन्दै ७ वैशाखमा थाइल्यान्ड गएका कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवा र संयुक्त राष्ट्रसंघको एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवं सामाजिक आयोग (एस्क्याप) को ८१ औँ सम्मेलनमा सहभागी हुन त्यहीँ गएकी उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणा दिउँसो १२ बजे स्वदेश फर्किँदै छन् ।
देउवा दम्पतीको स्वदेश आगमनलाई चासोका साथ हेरिएको छ । कतिपयले देउवा वर्तमान राजनीतिक कोर्स फेरबदलको गृहकार्यकै लागि थाइल्यान्ड गएकोसमेत अड्कल काटिरहेका छन् । तर, प्रधानमन्त्री ओलीले भने देउवा उपचारकै लागि त्यसतर्फ गएको अभिव्यक्ति दिँदै आएका छन् । यद्यपि, पछिल्ला दिनमा उनको संशय भने बढ्दै गएको देखिन्छ ।
माओवादी अध्यक्ष प्रचण्डले नयाँ गठबन्धनबारे कांग्रेस सभापति देउवा स्वदेश फर्किएपछि कुरा हुने भनी दिएको अभिव्यक्तिले राजनीतिक माहौल झनै तातिएको छ । उनले देउवा थाइल्यान्ड जानेबेला टेलिफोनमा कुराकानी भएको र फर्किएपछि थप कुराकानी हुने बताएकाले मुलुकको राजनीति नयाँ कोर्षमा जानसक्ने अड्कलबाजी पछिल्ला दिनमा व्यापक भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया