वर्ष ०८१ सकिएर हामी नयाँ वर्ष २०८२ मा प्रवेश गरेका छौँ । आजभन्दा ठ्याक्कै १०० वर्षअघि देशमा राणा शासनको जग्जगी थियो, समाज राणाशाहीको बन्धनमा थियो । विक्रम सम्बत १९९० को दशकबाट चल्न थालेको राणाविरोधी आन्दोलन र त्यसको उपलब्धी मानिएको प्रजातन्त्रको विजारोपण भएको शताब्दी पुग्न अब साढे दुई दशक मात्रै बाँकी छ । यता त्यसपछि प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा हामी प्रवेश गरेको पनि दुई दशक पुग्नै लाग्यो ।
जतिबेला दक्षिणतर्फको छिमेकी देश भारत बिट्रिस साम्राज्यको अधिनमा थियो, जतिबेला उत्तरी छिमेकी राष्ट्र चीन अहिलेको पूर्ण भूभाग प्राप्तीका लागि युद्धमै थियो । त्यति नै बेला नेपाल राणशाहीको गोलचक्करमा घुमिरहेको थियो ।
आज विश्वमा आर्थिक हिसावले शक्तिशाली मुलुकहरु उसैगरी विभिन्न उल्झन र कुनै शक्तिको दबाबमा थिए, जसरी नेपाल रहेको थियो । सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्य, युद्धका घाउका डोबहरुलाई विस्तारै पुर्दै उठेका देशहरु आज विश्वका शक्तिशालीमा गनिएका छन् ।
चीन–जापान युद्ध र अन्त्य, दोस्रो विश्वयुद्धमा ध्वस्त भएको जापान, ब्रिटिस साम्राज्यबाट उन्मुक्ति पाएको भारत । लगभग हामी एकै समय कुनै न कुनै राजनीतिक परिवर्तन गरेर आर्थिक विकासको बाटोमा हिँड्न सुरु गरेको इतिहासले देखाउँछ । माथि उल्लेख गरिएका र हामी भन्दा पनि त्यो बेला पछौटेपनमा रहेका देशहरु आज कहाँ पुगे हामी कहाँ अड्कियौँ ? लोकतन्त्र स्थापना भएको १९ वर्ष पुगिसक्यो ।
व्यवस्था फेरियो तर नेतृत्व गर्नेहरुको अनुहार र चरित्र नफेरिँदा आम निराशाको कारण त्यही बनिरहेको देखिन्छ ।
हामी यहाँ पटकपटक फेरिएका राजनीतिक व्यवस्था, नफेरिएको नागरिकको अवस्था, दलहरुको बेइमानी, र त्यसले निम्त्याएको निराशा । समयसमयमा गरिएका विभिन्न राजनीतिक परीक्षणहरु, फालिएको राजतन्त्र पुनः सल्बलाएको अवस्था र जिम्मेवारीबाट च्युत भएका राजनीतिक दल र तीनका मुख्य नेताको खुल्न नसकेको चेत अनि पछिल्लो समय एक समूहमा सवार भएको राजतन्त्र ब्यूँताउने भूत । आज हामी नेपालको विगतको समीक्षा, वर्तमानकालको अवस्था चित्रण र भविष्यतकालमा हुनसक्ने मार्गचित्रका बारेमा चिरफार गर्दैछौँ ।
***
पछिल्ला दिनहरुमा व्यवस्थामाथि नै प्रश्न उठाउँदै राजतन्त्र फर्काउने भन्दै आन्दोलनहरु भइरहेका छन् । आन्दोलनको भीडमा ०६२–०६३ को जनआन्दोलनको पेरिफेरिमा जन्मिएका युवा पुस्तालाई सडकमा राजतन्त्र फर्काउने भन्दै आक्रोश पोखिरहेका भेटिन्छन् ।
राजतन्त्र देख्दै नदेखेको, सुनाउँदा पनि निरंकुश र तानाशाही भनेर सुनाइएका र बुझाइएका यो पुस्ताका लागि पुनः राजतन्त्र किन प्यारो जस्तो देखियो त ? किन सडकमा इतिहास नै नदेखेको राजतन्त्र फर्काउन आउनुपर्यो त ? राजतन्त्रप्रति पढेको, सुनेको आधारमा ढुलमुल विचार लिएर सडकमा आउनुमा व्यवस्थाप्रतिको आक्रोश या अवस्थाप्रतिको आक्रोश ? बयान गरिरहनुनपर्ला । हिजो राजतन्त्र फाल्नका लागि संघर्ष गरेकाहरु पछिल्ला दिनहरुमा फेरि राजतन्त्र पुनस्थापनाको आन्दोलनमा सडकमा भेटिन्छन् । हिजो राजतन्त्रको अन्त्यका लागि सडक संघर्ष गरेको कथाहरु उसैगरी सुनाउँछन्, अवस्थाबारे चित्रण गर्दै अहिलेका नेताहरुप्रति आक्रोशित बन्छन् ।

देश उन्नत मध्ये उन्नत व्यवस्था यानेकी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ । संविधान बनेकै छ, विदेशबाट रेमिट्यान्स पठाएर भए पनि नागरिकहरुको चुल्हो बलेकै छ । निरन्तर निर्वाचन भएकै छ, जनताका प्रतिनिधिहरु चुनिएकै छन् । बाहिरबाट हेर्दा सबै प्रक्रियाहरु ठिकै चल्दैछन्, विकास पनि हुँदैछ भन्दै नेता र नेतृत्वले जनतालाई आश्वस्त तुल्याउन खोजिरहेका देखिन्छन् ।
तर कथा भने अर्कै छ ।
विकासको बाधक राणाशासनदेखि राजतन्त्र सम्मलाई बनाइन्छ, कहिले भूकम्प, कहिले आर्थिक मन्दी, कहिले कोरोना र त्यसपछिको असर र कहिले अन्य प्राकृतिक विपत्तिलाई बनाइन्छ । र भाषणको केही मसला पाइएन भने, विरोध गर्दै राष्ट्रवादी बन्नका लागि कहिले चीन त कहिले भारततिर फर्किएर गाली गर्ने प्रवृत्ति समेत जबरजस्त बनेको छ । जसले हामीलाई उनीहरुबाट विकासका कुरा सिक्ने भन्दा पनि उनीहरुलाई गाली गरेर आफू राष्ट्रवादी बन्ने गलत रवैया विकास भएको पाइन्छ ।
विरोध, दोषको हस्तान्तरण, निराशाको व्यापार, सबै क्षेत्रमा चरम दलीयकरण, सत्तालिप्सा, भ्रष्टाचारमा लिप्त, कुशासनको मतियार । आफूले काम गर्न नसकेको दोष कहिले कुनै तन्त्र, कहिले प्राकृतिक विपत्ति र दलदलबिचको दोषारोपण यो नेपाली राजनीतिमा वर्षौैँदेखि चलिआएको पर्व र परम्परा जस्तै बनेको छ ।
०८० साल कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर पश्चिम नेपालमा भूकम्प गयो । सरकारको गति कस्तो छ भन्ने उदाहरण हेर्न त्यही जाजरकोट भूकम्पमा सरकारको निकम्मापनलाई हेर्दा मात्रै पुग्छ । क्षतिको विस्तृत मूल्यांकनको सुरुवात गर्न मात्रै सरकारलाई ढेड वर्ष लाग्यो । न काम गर्न सकिएन भन्ने पश्चाताप, न आत्मसमीक्षा, न अब राम्रो गर्छु भन्ने संकल्प, पटक्कै न पश्चाताप, न लाज, न डर अहिले नेपाली राजनीतिमा देखिएको दुखद पक्ष यही हो ।
देउवा त्यस्ता पात्र हुन् जसलाई ०४८ सालदेखि नेपाली राजनीतिको मुलधारमा देखिरहिएकै छ । मन्त्रीका रुपमा मात्र होइन ०५२ सालबाट ५औँ पटक प्रधानमन्त्री बनेका देउवा अब छैठौँपटक प्रधानमन्त्री बन्ने लाइनमा छन् । उमेरले ८० पुग्नै लागेका देउवा प्रधानमन्त्री बन्दा स्वयं देउवा परिवार, उनको गुटका कार्यकर्ता बाहेक कांग्रेस पूरै खुसी हुन सक्ने अवस्था देखिँदैन ।
५० को दशकबाट हालिमुहाली गरिरहेका पात्रहरु को अनुहार सम्झिँदा क–कसको नाम दिमागमा आउँछ ? सम्झिनुस् त, उही केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र झलनाथ खनाल आदी ।
एक जना बहालवाला र अन्य सबै पूर्व प्रधानमन्त्रीको झोला भिरेका नेताहरु हुन् । ५० को दशकबाट निरन्तर नेपाली राजनीतिमा यी नै अनुहारहरुको हालीमुहाली छ । उमेरले ७० कटिसकेका, पटकपटक प्रधानमन्त्री भइसकेका, यथेष्ट कामको हिसाव आफैँ दिन नसकेका, हेर्दाहेर्दा जनताका आँखा समेत थाकिसकेका अनुहारहरु, जो अझै जबरजस्त राजनीतिमा आफूलाई उभ्याउन खोजिरहेका छन् ।
सत्ता र शक्तिबाट फुस्किएका र राजनीतिमा बोलवाला नचल्ने बाबुराम, माधव नेपाल र झलनाथलाई केहीबेर अर्को टोकरीमा राखेर हेर्दा बाँकी रहेका तीन भाई नेताहरु जो आफूहरुलाई जोगाउन जुनसुकै हतकण्ठा अपनाउन समेत पछि पर्दैनन् । यी बिचमा कस्ता कस्ता गठबन्धन बने, कसले कसलाई कतिपटक धोका दियो ?, कसले कसलाई फकाउन र चिड्याउन के गर्यो भन्ने बाहेक काम र विकासको हिसाव त परैको कुरा कसले गलत प्रवृत्तिलाई भित्र्याउन कतिपटक लबिइङ गर्यो भन्ने कुरा यहाँ चर्चा गरिरहनै पर्दैन, तपाईँ हामी सामु छर्लङ्गै छ ।
पछिल्लो समय तपाईँले प्रधानमन्त्रीको भाषण त सुनिरहनुभएकै छ । प्रत्येक भाषणमा आगामी ०८३ साल असारमा देउवालाई सत्ता छाड्छु भन्ने बाहेक अरु नयाँ कुरा गर्न नै छाडेका छन् । देउवा हलचल गर्ने बित्तिकै आफू सत्ताबाट बाहिरिन्छु भन्ने बुझेका प्रधानमन्त्री ओलीमा चिन्ता र डर बाहेक अरु नयाँ आशाको सन्चार गर्ने विषय भेटिन्नन् । डर हुनुपथ्र्यो त जनताको, चिन्ता हुनुपथ्र्यो त देशको अवस्थाको । तर सत्ता सारथी अर्को दलको नेताले हलचल गर्छ र सत्ताबाट बाहिरिनुपर्छ कि भन्ने बाहेक चिन्ता र चिन्तन प्रधानमन्त्रीमा नदेखेपछि स्वयं उनकै दलका मन्त्रीले राजीनामा दिएर हिँड्नुपर्ने र आफ्नै कार्यकर्ताबाट आलोचित हुनुपर्ने परिस्थितिमा पुगेका छन् मुलुकको प्रधानमन्त्री ।

राजनीतिबाट यो पुस्ताको सम्मानजनक विदाई होस् र नयाँ पुस्ता आवस भन्ने आम चाहना छ । केही नेताहरुको मुठ्ठिभरको शासनले निस्सासिएका जनतामा नयाँ पुस्ता राजनीतिको केन्द्रमा पुगोस् र नयाँ काम गरोस् भन्ने अपेक्षामा छन् । तर प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली अझै २ दशक आफैँ राजनीतिमा टिकिरहने बताइदिन्छन् । जसले पुस्तान्तरण खोजिरहेका आम जनता पुनः निराश बन्ने गरेको देखिन्छ ।
यता आफूबाट ओली आत्तिएको पत्तो पाएका कांग्रेस सभापति समेत रहेका पूर्वप्रधानमन्त्री देउवा यो गठबन्धनमा दरार नआओस् भन्ने चाहान्छन्, जो आगामी १५ महिनापछि प्रधानमन्त्री बन्दैछन् । केवल सत्ताकै लागि ओली कार्यकालको सुखद समाप्तीको पर्खाइमा मात्रै देउवाको दिनहरु बितिरहेका छन् । देउवा त्यस्ता पात्र हुन् जसलाई ०४८ सालदेखि नेपाली राजनीतिको मुलधारमा देखिरहिएकै छ । मन्त्रीका रुपमा मात्र होइन ०५२ सालबाट ५औँ पटक प्रधानमन्त्री बनेका देउवा अब छैठौँपटक प्रधानमन्त्री बन्ने लाइनमा छन् । उमेरले ८० पुग्नै लागेका देउवा प्रधानमन्त्री बन्दा स्वयं देउवा परिवार, उनको गुटका कार्यकर्ता बाहेक कांग्रेस पूरै खुसी हुन सक्ने अवस्था देखिँदैन । राजनीतिमा चतुर खेलाडीका नामले चिनिएका देउवाको चतुरता अहिले ओलीको गलत रबैयाको साक्षी बनेर प्रधानमन्त्री बन्ने मिति कुरेर कुर्सीमा पुग्नुबाहेक नदेखिएको प्रष्ट देखिएको छ ।
अझ त्यसमाथि बेला बेला सत्ताको फल झर्ला र खान पाइएला कि भनेर छिर्के दाउ हान्ने अस्थिर राजनीतिक चरित्र भएका प्रचण्डको चर्चा गर्नुभन्दा यथार्थ नै छर्लङ्गै देखिन्छ । पूर्व प्रधानमन्त्रीहरुको राजनीतिक परेडको मैदान बन्दा अझै आफू सच्चिने, राजनीतिमा नयाँ पुस्ता अघि सार्ने भन्दा पनि जबरजस्ती बस्ने प्रवृत्ति नै निराशाको मुल कारण बनेको देखिन्छ ।
केही समयअघि वर्तमान गृहमन्त्री रमेश लेखकले पूरानै दलहरुकै कारणले मोबाइल आएको भन्दै गलत तथ्यांक प्रस्तुत गरे । समयको विकासक्रमसँगै नेपाल भित्रिएको प्रविधिलाई समेत राजनीतिककरण गरिँदा अन्य क्षेत्रको विकास हुन नसकेको कुरामा चाँही जिम्मेवारी लेखक जस्ता नेताहरुले लिन्छन् त ? आम प्रश्न यही हो ।
काम गर्नुभन्दा जस लिने होडबाजीले प्रभावित भएको नेपाली राजनीतिलाई लेखक प्रवृत्तिको अभिव्यक्तिले नै गलत बाटोमा मोडेको हो भन्दा फरक पर्दैन ।
गत चुनावपछि नेपाली राजनीति नयाँ नयाँ समीकरणहरु बनिससकेका छन् । तर समीकरणलाई खानासँग तुलाना गर्ने हो भने ‘गुन्द्रुकको विकल्प मस्यौरा र फेरि मस्यौराको विकल्प गुन्द्रुक’ भनेझैँ बन्यो । बहुदल आएपछिको त कुरा छाडौँ, नयाँ संविधान बनेर मुलुक नयाँ दिशामा अघि बढ्दा समेत राजनीतिमा पुरानै अनुहार र प्रवृत्तिहरु चिरस्थायी रुपमा देखिन पुगे ।
अहिले व्यवस्थामाथि प्रहार भयो भन्दै तीन नेताहरुको रुवाइ र गठजोड देखिन्छ । अवस्थाको निराशाले रन्थनिएपछि अहिले राजतन्त्र ल्याउनुपर्छ भन्नेहरु कुनै बाहिरी मान्छे भने होइनन् । यीनै पात्र र प्रवृत्तिले हुर्काएकाहरुले नै अहिले व्यवस्थामाथि प्रहार गरिरहेका छन् । गत चुनावकै कुरा गरौँ, जसले राजावादी शक्तिहरुलाई साथ दियो, राजावादी शक्तिका नेता जो राजतन्त्रको विरोधी दलको चुनाव चिह्न नै लिएर चुनाव लड्यो । तर अहिले उनीहरु नै एक अर्काका दुस्मन र प्रतिष्पर्धी बनेका छन् । अहिले राजा ल्याउन हिँडेका राजेन्द्र लिङ्देन, दुर्गा प्रसाईँदेखि अन्य पात्रहरु जो अहिलेका प्रधानमन्त्री ओली र प्रचण्ड लगायतले मलजल गरेर हुर्काएका पात्रहरु हुन् ।
आफूलाई व्यवस्थाको मसिहा ठान्नेहरु जसले आफ्नो सत्ता टिकाउन व्यवस्थामाथि नै प्रहार गर्न खोज्नेहरुकै साथ खोजे । र यो व्यवस्थाको कामै छैन भन्दै दैनिक गाली गर्ने राजेन्द्र लिङ्देन प्रवृत्ति चुनावमा एमालेकै सहयोग र चुनावपछि माओवादीको सहयोगमा आफू उपप्रधानमन्त्री र अन्य नेताहरुलाई मन्त्री बनाउन पछि परेनन् । के नयाँ के पूराना, के युवा के वृद्ध सबैको प्रवृत्ति एकै बनिदिँदा नयाँ सोचका साथ मुलुकलाई अघि बढाउनुपर्छ भन्ने आवाजहरु मधुर जस्ता सुनिन थालेका छन् । विधायकी भूमिकामा बस्ने अधिकार दिइएका सांसदहरु नै ठेकेदार जस्ता बनेका छन्, जनता उनीहरुबाट राम्रो कानुन भन्दा पनि सडक र पुल बनाउन बजेटको व्यवस्थापन गरिदिने ठेकेदारका रुपमा उनीहरुलाई हेरिरहेका छन् ।
अब कुरा गरौँ पूरानो राजतन्त्रको विरासत बोकेको राप्रपाका एक युवा नेताको । सामाजिक अभिव्यन्ताबाट चर्चित रहेका र गत निर्वाचनमा प्रत्यक्ष चुनिएका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) जो ‘फस्ट्रेट’ युवाहरुका आइकन जस्ता बनेका छन् । तर उनले दिने सूचना र तथ्यांक भने कुनै क्याल्कुरेटरले हिसाव निकाल्दा पनि नमिल्ने देखिन्छ ।

अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य निर्धारण हुने सुनको मूल्य समेत पूराना दलका केही नेताहरुले बढाएका भन्दै उनी आक्रोश बनिदिन्छन् र त्यसैमा धारणा बनाएर उनी समर्थकहरु गाली गलौचमा उत्रिरहेका छन् । शाहीलाई एक प्रतिनिधि पात्र मान्ने हो भने नेपाली राजनीति र राजनीति गर्छु भन्नेहरुको मुल समस्या नै त्यही बनिरहेको देखिन्छ ।
शाही एक प्रतिनिधि पात्रहरु हुन्, जो गलत, मिथ्था सूचनालाई ठूलो स्वरमा बोल्न पाए जनताले पत्याइदिन्छन् भन्ने सोच्छन् । कुनै कुरामा आफू जवाफदेही हुनुनपर्ने, दोष अरुलाई थोपरेर उम्किने युवा, बयस्कदेखि वृद्धवृद्धा सांसद र नेताहरुकै कारण आज थप निराशा पैदा भइरहेको भन्ने न कुनै दलले बुझेको छ, न त तीनका नेता कार्यकर्ताहरुले बुझेका छन् ।
हरेक राजनीतिक दलका आ–आफ्नै वाद, शिद्धान्त, धरातल र आधारहरु छुट्टाछुट्टै छन् । कोही आफूलाई ‘मासवेस’ त कोही ‘क्याडर वेस’ पार्टी भनिरहेका छन् । तर जुन वाद, शिद्धान्त र आधारलाई मुख्य मानेपनि पार्टीभित्र देखिएको ‘चाकडीवाद’ मा भने सबै दलमा समानता रहेको देखिन्छ ।
अहिलेको संसदमा हरेक दलबाट केही आशा गरिएका पात्रहरु छन्, जो दोस्रो पुस्तालाई विश्वस्त बनाएर निर्वाचित भए । तर तीनै आशा गरिएका पात्रहरुको बोली केवल बोलीमा मात्रै सीमित बनिदिँदा उनीहरुमाथि समेत प्रश्न उठ्न थालेको छ । र संसद्मै केही आशा गरिएकै पात्रहरु छन्, जो नेतृत्वको चाकरीबाट माथि उठ्न नसक्दा पूरानासँग बढी आक्रोश ती पात्रहरुसँग जनताले पोखिरहेका छन् ।
राजनैतिक शिद्धान्त पूरानैको जस्तै बनाएर उदाएका केही नयाँ भनिएका दलहरु समेत नयाँ भिजन र एजेण्डा भन्दा पपुलिस्ट नारा दिँदा पूरानै दलको पुनरावृत्ति जस्तो देखिन पुगे ।
पछिल्लो समय उठेको व्यवस्थामाथिको प्रश्न र व्यवस्था नै परिवर्तनको आवाजलाई थप बल दिने काम भने सरकारले नै गरिरहेको छ । सडकमा विभिन्न नाममा चर्किरहेको आन्दोलनलाई थप चर्काउन मसलाहरु दिएर सरकारवादी दलहरु भने व्यवस्थामाथि प्रहार गर्नेहरुलाई कडाइ गर्ने मनस्थितिमा देखिन्छ ।
चौतर्फी सरकारविरोधी आवाज, काम गर्नै नसेको भनेर सरकारमै सामेल दलहरुको असन्तुष्टि, जबरजस्ती सरकार टिकाउन नेताहरुले गरेको तिकडम निरन्तर टिकिरह्यो भने २००० को शताब्दी पनि यसै खेर जाने देखिन्छ ।
राजावादी दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको काँधमा राजतन्त्र ब्यूताउने अभिभारा आइपुगेको छ । तर उनै लिङ्देन अझै पूराना दलका शीर्ष नेताहरुलाई आफ्नो चरित्र सुधार गर्न भनिरहेका छन् । हरेक भाषणमा र उही नेताहरुकै अघि आफ्नो चरित्र सुधार गरेर अघि बढ्न लिङ्देनले दिएको चुनौतीलाई बेवास्ता गर्दा व्यवस्थामाथि प्रश्न उठ्यो, नेताहरुको नियतमाथि प्रश्न त जो वर्षौँदेखि उठिरहेकै थियो, छ ।
अझ उदेक लाग्दो कुरा त सरकारकै नेतृत्व गरिरहेका दल नै आम जनता खुसी छन् भन्ने देखाउन आफ्नो भाडाका कार्यकर्ताहरु सडकमा उतारिरहेका छन् । सडकमा कार्यकर्ताहरु उतारेर न मुलुक समृद्ध बन्छ, न प्रधानमन्त्री ओलीले भनेजस्तो नेपाली सुखी बन्छन् ।
चौतर्फी सरकारविरोधी आवाज, काम गर्नै नसेको भनेर सरकारमै सामेल दलहरुको असन्तुष्टि, जबरजस्ती सरकार टिकाउन नेताहरुले गरेको तिकडम निरन्तर टिकिरह्यो भने २००० को शताब्दी पनि यसै खेर जाने देखिन्छ ।
अहिले हामी ०८२ को सुरुवात भर्खरै प्रवेश गरेका छौँ । अबको १० वर्षपछि ९२ सालमा हामी पुग्दा पनि बिचमा राजतन्त्रको आन्दोलन चल्यो त्यही कारण यो दशक पनि विकास गर्न सकिएन भनेर पुनः राजनीतिमा ओली, देउवा र प्रचण्ड प्रवृत्ति हाबी नहोस् कामना गरौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया