काठमाडौं । लुम्बिनी प्रदेशमा गत चैत महिनाभरि ४ सय २ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ३६ जनाले ज्यान गुमाएका छन् भने ७४५ जना घाइते भएका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दानबहादुर कार्कीका अनुसार, चैतमा भएको दुर्घटनाको संख्या फागुनको तुलनामा मृत्युका दृष्टिकोणले केही घटेको छ । फागुनमा ३९ जनाको ज्यान गएको थियो । रूपन्देही र दाङमा सबैभन्दा धेरै १०–१० जनाको मृत्यु भएको छ भने पाल्पा, रोल्पा र रुकुमपूर्वमा कुनै पनि ज्यान गएको छैन ।
बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन–तीन जनाको मृत्यु भएको छ। प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सबैभन्दा बढी संलग्न सवारीसाधन मोटरसाइकल रहेका छन्। प्रमुख कार्कीका अनुसार कुल दुर्घटनामध्ये ६० प्रतिशत मोटरसाइकलले गर्दा भएका हुन् ।
अन्य सवारीसाधनको दुर्घटनामा सहभागी हुनेमा कार/जीप – ८.७१% साइकल – ८.०१% ट्याम्पो – ७.४९% ट्रयाक्टर – ४.७०% बस – ४.३६% टिपर – १.९२% माइक्रो – १.२२% ट्रक/ट्याङ्कर – २.६१% प्रतिशत रहेका छन् ।
प्रमुख कार्कीका अनुसार, लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा सडक स्तरवृद्धि नभएको र खाल्डाखुल्डीपूर्ण सडकले दुर्घटनाको जोखिम बढाएको छ। चालकको लापरवाही र सवारी साधनको अत्यधिक चाप पनि दुर्घटनाको प्रमुख कारण रहेको उनले बताए। प्रहरीले सडक सुधार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया