संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

लोकपथ
721
Shares

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आज (शुक्रबार ) बाट सुरु हुँदैछ । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पनि सभामुखले पढेर सुनाउने छन् । साथै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन पनि गरिनेछ । अधिवेशनको पहिलो दिन विभिन्न दलका प्रतिनिधिहरूले दलीय आधारमा मन्तव्य राख्ने कार्यक्रम तय भएको छ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजको बैठकमा समसामयिक राजनीतिक तथा आर्थिक विषयमा सम्बोधन गर्ने कार्यक्रम छ। आजकै बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ संसदमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।

गत चैत १८ गते सम्पन्न हिउँदे अधिवेशनपछि सुरु भएको यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिइएको छ । संविधानको व्यवस्था अनुसार, जेठ १५ गते अर्थमन्त्रीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने छन् ।

यसअघि वैशाख १९ गते राष्ट्रपति समक्ष नीति तथा कार्यक्रम पेश हुनेछ भने वैशाख २८ देखि प्रि-बजेट छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफल पनि अधिवेशनको प्रारम्भमै गरिनेछ । साथै, यो अधिवेशनमा संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने प्रयास हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?