सशस्त्रको डीआईजी सरुवा : अवकाशको मुखमा पुगेका प्रवक्ता न्यौपाने र ज्वाईंलाई आकर्षक ठाउँ

लोकपथ
8.5k
Shares

काठमाडौं । गृह मन्त्रालयले बिहीबार सशस्त्र प्रहरी बलका डीआईजीको सरुवा गरेको छ । सरुवा सूचीअनुसार, नम्बर १ बराह बाहिनी मुख्यालयका बाहिनीपति डीआईजी शम्भु सुवेदीलाई एपीएफ कमान्ड तथा स्टाफ कलेजको जिम्मेवारी दिइएको छ ।

नम्बर १ बराह बाहिनीमा नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक (सई) मा भर्ना भई सशस्त्र प्रहरीमा स्थानान्तरण भएर प्रथम श्रेणीको उच्चपदस्थ प्रहरी अधिकारी बन्न सफल भएका कुमार न्यौपानेलाई पठाइएको छ । 

नम्बर ७ बाहिनीको बाहिनीपति रहेका न्यौपानेलाई सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी दिँदै अहिले बाहिनीपतिको हकमा सबैभन्दा आकर्षक नम्बर १ बाहिनीको जिम्मेवारी दिइएको छ ।

नम्बर ७ र ९ को बाहिनीपतिको जिम्मेवारीमा रहँदा बेस, गुल्म र गणबाट अवैध रुपमा रकम असुलेको आरोप खेपेका न्यौपानेलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिँदै अहिले बाहिनीपतिको हकमा सबैभन्दा आकर्षक नम्बर १ बराह बाहिनीको जिम्मेवारी दिइएको हो । उनी १० महिनापछि आगामी माघ मसान्तमा अनिवार्य अवकाशमा जाँदैछन् । उनी नम्बर १ बराह बाहिनीमा जाने यसअघि नै व्यापक चर्चा थियो । झापा घर भएका न्यौपाने सशस्त्र प्रहरीको जागिरको उत्तरार्द्धमा पैसा कमाउनकै लागि नम्बर १ बराह बाहिनी गएको समाचार स्रोतको दाबी छ । केन्द्रीय प्रवक्ता रहँदा उनले सञ्चार क्षेत्रसँग समन्वयात्मक भूमिकासमेत निर्वाह गर्न सकेका थिएनन् ।

उनका भाइ विश्वराज न्यौपाने गृह मन्त्रालयमा उपसचिवमा कार्यरत छन् । सशस्त्र प्रहरी विधेयक दस्ताबेज तयार गर्ने बेला उनका भाइमाथि मनमौजी शक्ति प्रयोग गरेको आरोप छ । विधेयकका कतिपय व्यवस्थाप्रति सशस्त्र प्रहरीकै उच्चपदस्थ अधिकृतहरुले आपत्ति जनाइरहेका छन् । एआईजी वंशीराज दाहालको योजनामा उनीमाथि एआईजीको पदावधि तीन वर्ष राख्न चलखेल गरेको आरोप छ । संसदमा विचाराधीन रहेको यो विधेयक तत्काल पारित हुने सम्भावना छैन । आगामी असोजपछि विधेयक पास भए हालका आईजीपी राजु अर्याल, एआईजीद्वय नारायणदत्त पौडेल र दाहाल स्वयं एकै दिन अवकाशमा जाने छन् । अहिले एआईजीको पदावधि चार जोड एक छ ।

सरुवा सूचीअनुसार स्टाफ कलेजका बाहिनीपति अञ्जनी पोखरेललाई नम्बर ३ गढिमाई बाहिनी पठाइएको छ । उनी स्टाफ कलेजअघि नम्बर १ बराह बाहिनीका बाहिनीपति थिए । 

यस्तै प्रदीपकुमार पाललाई नम्बर ५ बाट नम्बर ७ मा सरुवा गरिएको छ । कुनै पनि कार्यालयका प्रमुखलाई एक वर्षपछि सरुवा गरिने प्रचलन रहे पनि उनलाई ८ महिनामै सरुवा गरिएको हो । 

पाललाई ५ बाट ७ मा सरुवा गर्नुको मुख्य कारण नै हालै डीआईजीमा बढुवा भएका कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजी ज्वाईं दीपेन्द्र कुँवरको व्यवस्थापनका लागि हो । नम्बर १ र २ बाहिनीमा उनको व्यवस्थापन असहज भएपछि नम्बर ५ बाहिनीमा सरुवा गरिएको स्रोतको दाबी छ । 

नम्बर २ छिन्नमस्ता बाहिनीमा भने हालै कुँवरसँगै डीआईजीमा बढुवा भएका कृष्ण ढकाललाई सरुवा गरिएको छ ।  यसैगरी, दीपेन्द्र शाहलाई नम्बर ४ बाहिनीको बाहिनीपतिको जिम्मेवारी दिइएको छ । उनी यसअघि २ नम्बर बाहिनीमा बसिसकेका डीआईजी हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?