काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको चिन्ता नगरी मिसन ०८४ मा लाग्न युवा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । बिहीबार लोकतन्त्रको स्थापना दिवसको अवसरमा नेकपा (एमाले)ले आयोजना गरेको ‘युथ सेलिब्रेसन’मा बोल्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् ।
उनले कांग्रेस–एमालेको संयुक्त सरकार स्थिरता र स्थायित्वको लागि बनेको जिकिर गरे । उनले सरकार मुलुकलाई स्थायित्व दिने ध्याउन्नमा अगाडि बढिरहेको उल्लेख गर्दै सरकारको चिन्ता नगर्न समेत आग्रह गरे । उनले नेकपा एमालेको ध्यान सरकारमा नभई चुनाव केन्द्रित हुने समेत टिप्पणी गरे । संसद्को बनावटअनुसार देशलाई ठिक ढंगले अगाडि बढाउने प्रयास पार्टीले गरिरहने उनको दाबी छ ।
उनले भने, ‘यतिबेला नेकपा (एमाले) र नेपाली कांग्रेसबीच बनेको संयुक्त सरकार एउटा संकल्पका साथ बनेको सरकार हो । यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो । र यसले स्थिरता र स्थायित्व दिन्छ । त्यही ध्याउन्नमा अगाडि बढिरहेको छ । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन । चुनावको बारेमा चिन्ता गर्नुपर्दछ । त्यसैकारण नेकपा (एमाले) ले सरकार बनाऊ र सरकार बचाउ भनेर कराएको छैन । नेकपा एमालेले जहिले पनि के भन्छ भने चुनाव हेरेको हुन्छ । हामीले ०७० को चुनाव हेर्यौँ । ०७४को चुनाव भन्यौँ, ०७९ को चुनाव भन्यौँ र ०८४ को चुनाव भनिरहेका छौँ । मिसन ०८४ भनेका छौँ । म साथीहरूलाई आग्रह गर्न चाहन्छु ढुक्कले मिसन ०८४ मा लाग्नुस् । सरकार चलाउने, सरकारको नेतृत्व गर्ने काममा अहिलेको संसद्को बनावट अनुसार देशलाई ठिक ढंग अगाडि बढाउने प्रयास नेकपा एमालेले गर्नेछ । त्यस कारण यस कुरामा चिन्ता नगर्नुस् । मिसन ०८४ मा ध्यान दिनुस् ।’ स्वदेशी तथा विदेशी तत्त्वहरू मुलुकलाई प्रतिगमनतिर धकेल्ने काम गरिरहेको प्रधानमन्त्री ओलीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया