काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । यो कार्य शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।
प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा सम्पन्न उक्त प्रत्यारोपणमा केन्द्रका विज्ञ चिकित्सक डा. दिपेश श्रेष्ठ, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. सोभित थापा लगायतको टोली सहभागी थियो । भेरी अस्पतालका डा. दिपेश गुप्ता, डा. पारस पाण्डे, डा. सौरभ हमाल लगायतका स्थानीय विशेषज्ञहरूले पनि उक्त कार्यमा सहयोग पुर्याएका थिए।
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले मिर्गौला प्रत्यारोपण सेवाको सुरुवातलाई ऐतिहासिक उपलब्धीको रूपमा उल्लेख गर्दै यसले स्थानीय बिरामीहरूलाई नयाँ आशा प्रदान गर्ने बताएका थिए ।
हाललाई अस्पतालमा महिनामा एक जनाको मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गरिने योजना बनाइएको छ । साथै, अस्पतालका चिकित्सक, नर्स तथा प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गरिने डा. सुवेदीले जानकारी दिए।
नेपाल सरकारले सातै प्रदेशमा अंग प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुसार यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पताल (सुर्खेत) र हालै भेरी अस्पतालमा सेवा सुरु भइसकेको छ। बाँकी तीन प्रदेश-कोशी, मधेश र सुदूरपश्चिममा पनि सेवा सुरु गर्ने तयारी भइरहेको छ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म १,४०१ मिर्गौला र ३३ कलेजो प्रत्यारोपण गरिसकेको छ। केन्द्रले दुई तिहाइ भन्दा बढी प्रत्यारोपण सेवा देशभर प्रदान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया