काठमाडौं । कम्बोडिया पुर्याएर साइबर दास बनाउने गिरोहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–२ घर भएका २२ वर्षीय सन्देश शाही रहेका छन् ।
शाहीले एक व्यक्तिलाई कम्बोडियामा मासिक डेढ लाख रुपैयाँ कमाई हुने भन्दै त्यहाँ पुर्याएर साइबर दास बनाएको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले रातोपुलबाट मंगलबार पक्राउ गरेको हो ।
परिवर्तित नाम २६ बबरमहल ३८४ लाई उनले काठमाडौंबाट नेपालगञ्जको नाकाबाट भारतको लखनउ हुँदै मलेसिया पुर्याएको र त्यहाँबाट कम्बोडिया लगेर साइबर दास बनाएको आरोप छ ।
कम्बोडिया पुर्याएपछि चिनियाँले सञ्चालन गरेको अवैध कम्पनीमा बन्धक बनाई क्रिप्टो करेन्सी कारोबारमा लगाउनुका साथै अनलाइन ठगीमा समेत लगाएको पाइएको ब्यूरोका प्रवक्ता नरेन्द्र कुँवरले बताए ।
ती व्यक्तिलाई केटीको रुपमा प्रस्तुत गराएर एक महिनामा २० लाख भारु ठगी गर्नुपर्ने टार्गेट दिइएको र काम नगरे यातना समेत दिइएको बताइएको छ । पक्राउ परेका शाहीविरुद्ध मानव बेचबिखनको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया