गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मातृ मृत्युदर र आत्महत्या घटाउन प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।
राष्ट्रिय महिला आयोगद्वारा बुधबार पोखरामा आयोजित ‘लैङ्गिक न्याय सम्बन्धमा स्थानीय सरकारका न्यायिक समितिसँग प्रदेशस्तरीय अन्तर्क्रिया’ कार्यक्रममा उनले अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर गण्डकी प्रदेशमा बढी रहेको उल्लेख गरे ।
मातृ मृत्युदर न्यूनीकरण गर्न गर्भवती र सुत्केरीको लागि विशेष स्वास्थ्य सेवा र निगरानीको पहुँच पुर्याउन प्रदेश सरकार लागि परेको उनको भनाइ थियो ।
‘गण्डकी प्रदेशमा औसतमा दैनिक एकदेखि तीन जनासम्मले आत्महत्या गर्ने गरेको पाइएको छ, जसमा महिलाको सङ्ख्या ६० देखि ७० प्रतिशतसम्म छ, ‘ मुख्यमन्त्री पाण्डेले भने, ‘आत्महत्या न्यूनीकरणका लागि प्रहरीसँग मिलेर समुदाय स्तरमा सचेतना र मनोपरामर्शका कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’
उनले आकस्मिक उपचारका लागि गर्भवती तथा सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रबन्ध प्रदेश सरकारले मिलाएको र ग्रामीण भेगमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न प्रदेश सरकारले लगानी केन्द्रित गरेको बताए ।
स्थानीय तहमा रहेका न्यायिक समितिको क्षमता विकासमा पनि प्रदेश सरकार संवेदनशील रहेको उनले बताए । पोखरा महानगरपालिकाबाहेक प्रदेशका ८४ वटै स्थानीय तहका न्यायिक समितिलाई न्याय निरुपणमा सहज होस् भनेर प्रदेश सरकारले कानुनी सहजकर्ता पठाउन सुरु गरेको मुख्यमन्त्री पाण्डेले बताए ।
‘६५ वटा स्थानीय तहमा कानुनी सहजकर्ता नियुक्त भइसक्नुभएको छ, अन्य स्थानीय तहमा नियुक्तिको प्रक्रिया अगाडि बढेको छ, ‘उनले भने, ‘प्रदेश सरकारले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानमार्फत न्यायिक समितिका प्रमुख र पदाधिकारीहरूलाई क्षमता विकास तालिम पनि दिँदै आएको छ ।’ मुख्यमन्त्री पाण्डेले कानुनले दण्डित गरे पनि महिला हिंसाका घटनामा सोचेजसरी कमी नआएको बताए । ‘अहिले पनि समाजमा महिलामाथि हिंसा र विभेदका घटना हुने गरेका छन्, कतिपय घटना त बाहिर सार्वजनिकसमेत हुँदैनन्, ‘उनले भने, ‘महिला अधिकारको रक्षा र लैङ्गिक हिंसा अन्त्यका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया