काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्नेगरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार गरिएको छ ।
सभामुख देवराज घिमिरेले आज बुधबार प्रमुख सचेतकहरूसँगको छलफलपछि उक्त मस्यौदा तयार पारेका हुन् । त्यस्तै, आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव सरकारले गरेको छ ।
उक्त क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।
बैठकमा सभामुख देवराज घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका थिए । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।
बैठकमा सभामुख घिमिरेले भने, ‘संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाबमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ । विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को छ । शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँहरूले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ । उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसद्ले तयारी गरेको छ । जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौँ । समितिको प्रतिवेदन आएलगत्तै संसद्ले पारित गर्ने प्रक्रिया सुरु गर्छ । निजामती विधेयक पनि समितिबाट आउने अवस्थामा छ । नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामती लगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्दछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया