प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिएको सुशासन आयोग प्रथम दृष्टिमै औचित्यहीन : अर्जुननरसिंह केसी 

लोकपथ
4.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको  अध्यक्षतामा गठन गरिएको सुशासन आयोग प्रथम दृष्टिमै औचित्यहीन देखिएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मंगलबार भनेका छन्, ‘प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूको अध्यक्षतामा सुशासन आयोग गठनको औचित्य र आवश्यकता के हो ? मैले चाहिँ बुझ्न सकिन । जबकि लोकतन्त्रमा सिंगो सरकार नै सुशासनको लागि समर्पित र प्रतिबद्ध हुनुपर्छ । सरकारको अनिवार्य काम, कर्तव्य र अधिकारभित्र पर्ने जिम्मेवारी छुट्टै आयोग बनाउनु त्यो पनि प्रमकै अध्यक्षतामा, यो त ‘झन् झन् बुझ्यो झन् कठिन’ जस्तो भयो ।’

उनले लेखेका छन्, ‘कानुनको शासन, पारदर्शिता, जवाफदेहिता, नागरिक सहभागिता, भ्रष्टाचारको नियन्त्रण, प्रभावकारिता र दक्षता, सुशासनका परिधि हुन् ।  संविधानले सरकारको यो अनिवार्य जिम्मेवारी र कर्तव्यलाई अनतिक्रम्य, अहस्तान्तरणीय मानेको छ । त्यसैले जसको प्रमुख जिम्मेवारी हो उसैको अध्यक्षतामा गठित यो आयोग  प्रथम दृष्टिमै औचित्यहीन देखिन्छ । किनकि आयोग होइन सरकारले त भए गरेका कमजोरी र कुशासनलाई सुशासनमा परिवर्तन गर्छु भन्ने दृढ प्रतिबद्धता साथको प्रतिज्ञा पत्र वर्तमानको आवश्यकता हो । आयोग नै गठन गरी वर्तमानमा सुशासनको वास्तविक चिरफार गर्ने हो भने राष्ट्रिय रूपबाट विज्ञहरूको आयोग गठन गर्नु उपयुक्त हुन्छ ।’

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा सुशासन आयोग गठन गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?