प्रधानमन्त्रीकै अध्यक्षतामा सुशासन आयोगकाे औचित्यबारे केसीले उठाए प्रश्न

लोकपथ
672
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सुशासन आयोगको औचित्यबारे प्रश्न उठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हालै गठन गरिएको सुशासन आयोगको औचित्यबारे केसीले प्रश्न उठाएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत लोकतान्त्रिक व्यवस्थामा सरकार स्वयं सुशासनको प्रमुख जिम्मेवार अंग मानिँदै आएको अवस्थामा प्रधानमन्त्रीकै नेतृत्वमा आयोग गठन हुनु उपयुक्त हो कि होइन भन्ने प्रश्न गरेका हुन् ।

उनी भन्छन्, ‘सुशासन भनेको सरकारको अनिवार्य दायित्व हो – जसमा कानुनको शासन, पारदर्शिता, जवाफदेहिता, नागरिक सहभागिता, भ्रष्टाचार नियन्त्रण, कार्यसम्पादनमा प्रभावकारिता र दक्षता जस्ता मूल्य समावेश हुन्छन् । संविधानले यस्ता जिम्मेवारी सरकारकै हो भनी स्पष्ट रूपमा निर्दिष्ट गरिसकेको अवस्थामा छुट्टै आयोग गठन गर्नु, त्यो पनि कार्यपालिका प्रमुखकै अध्यक्षतामा विरोधाभासी देखिएको छ।’

उनले यस्तो आयोगको आवश्यकता किन पर्‍यो भन्ने प्रश्न गर्दै भने, ‘यदि सरकार आफैँले आफ्नो कमजोरी चिर्न आयोग चाहिन्छ भने त्यो सरकारको कार्यदक्षतामाथि नै प्रश्न उठ्छ।’साथै उनले सुशासन आयोग होइन, सुशासनप्रति सरकारको प्रष्ट र दृढ प्रतिबद्धता आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?