कक्षा १२ को परीक्षामा सामेल हुन परीक्षा बोर्ड र प्रशासनबाट शिक्षकलाई धम्की !

लोकपथ
2.5k
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णयपछि विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई परीक्षामा सामेल हुन धम्की आउन थालेको बताएको छ ।

शिक्षा ऐन जारीको मागसहित आन्दोलनरत शिक्षकहरुले काठमाडौंमा २१ दिनदेखि आन्दोलन गरिरहेका छन् । वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा समेत शिक्षकहरु सहभागी नहुने निर्णय महासंघले गर्दा राष्ट्रिय परीक्षा बोर्डले भने जसरी पनि परीक्षा गर्ने निर्णय गरेको छ ।

यहीबिचमा परीक्षाको केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र जिल्ला प्रशासन कार्यालयबाट धम्की आउन थालेको महासंघको आरोप रहेको छ ।

‘मिति २०८२ वैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सम्बन्धमा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई राष्ट्रिय परीक्षा बोर्डको पदाधिकारी र जिल्ला प्रशासन कार्यालयबाट धम्कीसहित परीक्षाको प्रक्रियामा सामेल हुन दबाब आएको कुराप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ ।

त्यस्तै महासंघले परीक्षाको कुनै पनि प्रक्रियामा सहभागी नहुन समेत आग्रह गरेको छ । साथै सरकारमाथि दबाब सिर्जना गर्न आन्दोलनप्रति ऐक्यबद्धता जनाउन प्रधानाध्यापक, शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई महासंघको आग्रह रहेको छ ।

‘विगत २१ दिनदेखि काठमाडौंमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार माग गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?