कुनै शैक्षिक गतिविधिमा सहभागी नहुन शिक्षकहरुलाई महासंघको आग्रह

लोकपथ
686
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनरत शिक्षकहरुलाई कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ ।

शिक्षकहरु आन्दोलनरत रहँदा कक्षा १२ को परीक्षा जुनसुकै हालतमा गर्ने सरकारले निर्णय लिएपछि महासंघ थप कडा रुपमा प्रस्तुत भएको हो ।

महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षा ऐन जारी नभएसम्म कक्षा १२ को परीक्षामा सहभागि नहुन समेत आग्रह गरेको हो ।

‘काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन,प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्र.अ तथा शिक्षक–कर्मचारी साथीहरुमा जोडदार माग गर्दछौँ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि संलग्न नहुनु हुन सबै प्राध्यापक, शिक्षक तथा कर्मचारीहरुलाई आग्रह गरिएको छ ।

‘२०८२ वैशाख १२ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरुमा अपील गर्दछौँ । शीघ्रातीशीघ्र शिक्षा ऐन जारी गराइ विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरीदिनुहुन विद्यार्थी, अभिभावक, विं व्य स, गाउँ/नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्ष समक्ष अनुरोध गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागहरुसहित शिक्षकहरुले २१ दिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् । मन्त्री, प्रधानमन्त्री र सरोकारवाला निकायसँग निरन्तर वार्ता भए पनि आश्वस्त हुने कुनै आधार नदेखिएको भन्दै शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?