काठमाडौं । शिक्षक आन्दोलन चलिरहेका बेला सोमबार एकाएक शिक्षामन्त्री रहेकी विद्या भट्टराईबाट राजीनामा आयो । २०औँ दिनसम्म काठमाडौं केन्द्रित आन्दोलन गरिरहँदा पनि मागहरू पूरा नभएपछि शिक्षकहरू निरन्तर आन्दोलनमा नै छन् र त्यसलाई निरन्तरता दिने मनस्थिति छाडेका छैनन् ।
शिक्षकका प्रतिनिधिहरूले प्रधानमन्त्री, शिक्षामन्त्रीदेखि सरोकारवालासँग समेत छुट्टाछुट्टै वार्ता गरे तर आश्वस्त हुने आधार नभेटिएपछि शान्तिपूर्ण भए पनि आन्दोलन थप चर्किरहेको छ ।
आफैँ शिक्षण पेसामा लामो समय रहेकी शिक्षामन्त्री भट्टराईबाट शिक्षा क्षेत्रमा सुधार हुने ठूलो अपेक्षा थियो । शिक्षा क्षेत्र बुझेको व्यक्ति रहेका कारण भट्टराईको पहलमा शिक्षकहरूको माग पूरा हुने अपेक्षाका बिच उनको राजीनामा आउँदा राजनीतिमा नै हलचल मच्चिएको छ ।
शिक्षकको मागबारे स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति र तत्काल मागहरू पूरा नगर्ने प्रधानमन्त्रीको चट्टानी अडानपछि भट्टराईले मार्गप्रशस्त गरेको बताइएको छ ।
प्रधानमन्त्री ओली आफ्नो अडानमा लचक नभएसम्म शिक्षकहरूको माग पूरा हुन नसक्ने बताइएका बेला शिक्षामन्त्रीबाट आएको राजीनामाले एमालेभित्रको राजनीतिमा कित्ताकाट देखिएको छ ।
एकातिर प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर प्रश्न उठिरहेका बेला एमालेबाटै सरकारमा सामेल मन्त्रीले राजीनामा दिँदा सरकार थप दबाबमा परेको देखिन्छ । साथै एमालेका कतिपय नेताहरुले शिक्षामन्त्रीबाट भट्टराईको राजीनामालाई नैतिकताको पाठसँग जोडेर समेत हेरेका छन् ।
अर्काथरी नेताहरूले भने प्रधानमन्त्रीमाथि दबाब सिर्जना गर्न भट्टराईले राजीनामा दिएको आरोप लगाइरहेका छन् ।
पूर्वमुख्यमन्त्री तथा मन्त्री समेत रहेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भट्टराईको राजीनामालाई नैतिकतासँग जोडेर हेरेकी छन् । उनले भट्टराई सक्षम, इमान्दार र नैतिक राजनीतिक कार्यकर्ता रहेको बताउँदै प्रधानमन्त्री ओली समक्ष समेत नैतिक प्रश्न तेस्र्याएकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले शिक्षक आन्दोलन चलिरहेका बेला शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने अवस्था कसरी बन्यो भन्दै प्रधानमन्त्री ओली समक्ष प्रश्नसमेत गरेकी छन् ।
‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो ? विद्या भट्टराई सक्षम, इमान्दार र नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ? कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको छ । कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्,’ उनले भनेकी छन् ।
नेपालको अग्रज महिला राजनीतिज्ञ समेत रहेकी शाक्य पार्टीभित्रका आन्तरिक विषयमा आलोचनात्मक चेत राख्ने नेतामा समेत पर्छिन् ।
तर एमालेका कतिपय नेताहरूले भने भट्टराईको राजीनामामा स्वयं उनकै कमजोरी रहेको भन्दै आलोचना गरिरहेका छन् ।
एमाले नेता एवं सांसद सूर्य थापाले शिक्षामन्त्रीले पदबाट राजीनामा दिनु नै जरुरी नरहेको बताउँदै प्रधानमन्त्रीले शिक्षामन्त्रीको राजीनामा स्वीकृत गर्न नहुने तर्क गरेका छन् ।
‘शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक हो । उहाँले राजीनामा दिनु जरूरी नै थिएन । मेरो सुझाव छ– उहाँको राजीनामा स्वीकृत नगरियोस्, ताकि संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि ११० दफासम्म पुगेको छलफल यही रफ्तारमा अघि बढ्न र बढाउन सम्भव हुनेछ !,’ उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।

प्रधानमन्त्रीको कार्यशैलीका कारण आक्रोशित बनिरहेका शिक्षकहरूप्रति लक्षित गर्दै थापाले शिक्षामन्त्रीको राजीनामा आउनुमा उनीहरू नै दोषी रहेकोसमेत दाबी गरेका छन् ।
थापाले शिक्षामन्त्रीकै राजीनामाका कारण विद्यालय शिक्षा विधेयक पछि धकेलिने देखिएको भन्दै कटाक्ष गरेका छन् ।
प्रधानमन्त्री ओलीको विश्वासपात्रसमेत रहेका थापाले अब आउने मन्त्रीले विद्यालय शिक्षा विधेयकबारे अध्ययन गरेर अघि बढ्दा थप समय लाग्ने परिस्थिति बनेको बताए ।
‘मेरो बुझाइ र विश्लेषणमा विद्यालय शिक्षा विधेयक पारित हुन अब केही महिना ढिलो हुने स्थिति सिर्जना भयो । प्रधानमन्त्रीज्यूले वैशाख २३ गते प्रतिनिधिसभामा टेबुल हुने दिन नै तोकेर शिक्षक नेताहरूलाई स्पष्ट भन्नुभएको थियो ।उहाँहरूले सडक प्रदर्शनी जारी राख्नुभएको देखियो । र, घटनाक्रम शिक्षामन्त्रीको राजीनामासम्म पुगेको छ । वैशाख २३ वा बजेटअघिको निकट मितिमा सम्बन्धित संसदीय समितिलाई विधेयकमाथिको सम्पूर्ण काम पूरा गर्न अब सम्भव नहुने स्थिति सिर्जना भयो कि ?,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘जुनसुकै विधेयकमाथिको छलफल अघि बढ्न सम्बन्धित मन्त्रालयका मन्त्री र अधिकारीहरूको उपस्थिति अनिवार्य हुन्छ । यसको अत्यावश्यक प्रबन्ध मिलाउन र नयाँ मन्त्रीले विधेयकको समग्र विषयवस्तु बुझेर जिम्मेवारीपूर्वक समितिमा हुने दफावार छलफलमा सहभागी हुन त केही समय लाग्ने नै देखियो ।’
सांसद थापा त्यतिमा मात्र रोकिएका छैनन्, उनले शिक्षामन्त्रीबाट भट्टराईको राजीनामा प्रधानमन्त्रीविरुद्धको प्रहारको रूपमा समेत व्याख्या गरेका छन् । राजीनामा पछि भट्टराईले नैतिकता देखाएको भनिरहेका बेला त्यो नै प्रधानमन्त्रीविरुद्ध र भट्टराईमाथि देवत्वकरण गर्ने होडबाजी रहेको आरोप लगाएका छन् ।
‘उहाँलाई काममा असहयोग, वार्ता गर्न निरन्तर इन्कार, राजीनामापछि प्रधानमन्त्रीविरूद्ध प्रहारको दुराशयले देवत्वकरणको होडबाजी ? स्वाँठशैली !,’ उनले भनेका छन् ।
यता प्रधानमन्त्री ओलीका विश्वासपात्रका रूपमा रहेका एमाले नेता महेश बस्नेत प्रधानमन्त्रीको बचाउ गर्दै भट्टराईविरुद्ध खनिएका छन् । उनले शिक्षकहरूसँग वार्ता गर्न नसकेर राजीनामा दिएको भन्दै आफ्नो कमजोरी लुकाउन राजीनामा दिएको भन्दै कटाक्ष गरेका छन् । त्यस्तै उनले भट्टराई मन्त्री नियुक्त भएकै बेलादेखि उनको कार्यक्षमतामा प्रश्न उठेको भन्दै आलोचना गरेका छन् । साथै अब आउने मन्त्री शिक्षा नीति बुझेको पात्र हुनुपर्ने समेत बताएका छन् ।

‘शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटुङ्गिएपछि राजीनामा दिनु भएको छ । आन्दोलन नटुंगिनु शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयं मन्त्रीकै कमजोरीको संकेत हो,’ उनले भनेका छन्, ‘मन्त्री भएको बेलादेखि नै उनको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो व्यापक बढेकै थियो । अबको चुनौती भनेको शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको मागलाई सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्ने नेतृत्व छनोट गर्नु पर्दछ । यद्यपि यो विषय नैतिकतासँग जोडेर राजीनामा दिएको हुनाले सकारात्मक हिसाबले पनि लिन सकिन्छ ।’
यता पूर्वमन्त्रीसमेत रहेका एमाले नेता गोकुल बास्कोटाले प्रधानमन्त्री ओली र उनी निकट नेताहरूमाथि व्यंग्यात्मक रूपमा टिप्पणी गरेका छन् । राजीनामा पछि प्रधानमन्त्री ओली निकटका नेताहरूले भट्टराईको कार्यक्षमतामाथि प्रश्न उठाइरहेका छन् ।
यसैबिच सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले आफ्नो कामको मूल्यांकनको जिम्मा आफैँमा निहित हुने बताउँदै भट्टराईको कार्यक्षमतामाथि प्रश्न उठाउन प्रधानमन्त्री ओली निकट नेताहरू रहेको व्यंग्य गरेका छन् ।
‘म जे छु ठिकै छु । किनकि मेरो मूल्यांकन गर्ने सर्वोच्च निकाय म नै छु । बाँकीको मूल्यांकन गर्ने त स्वयं उनीहरू मात्र हुन्, जसलाई स्वघोषित त्यो अख्तियारी प्राप्त छ,’ उनले भनेका छन् ।

यता एमाले नेता विष्णु रिजालसमेत प्रधानमन्त्री ओलीको बचाउ गर्दै भट्टराईमाथि खनिएका छन् । नेता रिजालले राजीनामापछि भट्टराईको देवत्वकरण र प्रधानमन्त्री ओलीको दानवीकरण गरिएको भन्दै कटाक्ष गरेका छन् । भट्टराईले आफ्नै स्वास्थ्यका कारण राजीनामा दिएको बताउँदै सोही विषयलाई लिएर प्रधानमन्त्रीमाथि राजनीतिक रूपमा आक्रमण भएको उनले दाबी गरेका छन् ।
‘शिक्षामन्त्री विद्या भट्टराईले ‘स्वास्थ्यका कारण’ राजीनामा दिएको’ भनिन्छ । जे कारण होला, उहाँले पदमा रहन चाहनुभएन । यही निहुँमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण गर्नु नियोजित छ । समस्याका बिचमा पद छाड्नुभएकी मन्त्रीको देवत्वकरण गर्ने र उहाँलाई मन्त्री बनाउने अनि सबैतिर मिलाएर समस्या समाधानमा प्रयत्नरत प्रधानमन्त्रीको दानवीकरण गर्नु खेदजनक छ,’ उनले भनेका छन् ।
पछिल्ला दिनहरूमा नेकपा एमालेभित्र भावी नेतृत्वको सवाल जोडतोडले उठिरहेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताले एमालेभित्रको राजनीतिमा हलचल मच्चाइरहेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहेका नेताहरू भण्डारीलाई अघि सारेर ओलीसँग राजनीतिक ‘चेक एन्ड ब्यालेन्स’ गर्ने रणनीतिमा देखिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया