के अन्जान शाक्य शिक्षामन्त्री बन्न लागेकी हुन् ?

लोकपथ
3k
Shares

काठमाडौं । सोमबार एकाएक शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएसँगै यतिबेला उक्त पद कसले सम्हाल्छ भन्ने चर्चा चलिरहेको छ ।

शिक्षकहरुको आन्दोलन चलिरहँदा शिक्षामन्त्रीबाट राजीनामा आएपछि अब नयाँ शिक्षामन्त्री को बन्छ भन्ने चर्चाका बिच मन्त्री बन्नेमा राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्यको नाम जोडिएको छ ।

पूर्व राजदूत समेत रहेकी डा. शाक्य शिक्षामन्त्री बन्न लागेको भन्दै सामाजिक सञ्जालदेखि मिडियामा चर्चा भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकटताका कारण शाक्यलाई नै मन्त्री बनाउन लागेको चर्चा चलिरहँदा शाक्य स्वयमले भने आफू मन्त्री बन्ने तयारीमा नरहेको स्पष्ट पारेकी छिन् ।

सामाजिक सञ्जालदेखि मिडियासम्म शाक्य मन्त्री बन्न लागेको चर्चा चलेपछि उनले सामाजिक सञ्जालमा लेख्दै शिक्षा क्षेत्र आफ्नो विज्ञता र रुचीको क्षेत्र नरहेको समेत बताइन् । साथै आफूलाई त्यसबारे कुनै जानकारी नै नभएको भन्दै गलत प्रचारको पछि नलाग्न समेत आग्रह गरेकी छिन् ।

‘मिडिया मार्फत कसैले मेरो बारे झूठो प्रचार गरेको सन्दर्भमा भ्रमको पछि नलाग्न सबैमा अनुरोध,’ उनले भनेकी छन्, ‘केही सञ्चारमाध्ययममा म स्वयंलाई समेत जानकारी नभएको, रुचि नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग जोडेर डाक्टर अन्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने खालका भ्रामक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो । यो विषयमा मैले नवोल्दा वा कुनै प्रतिक्रिया नदिँदा पनि हुने हो ।’

त्यसो त केही समय अघि शाक्य अन्तर व्यवस्थापिका संघ (आइपियु) को दिगो विकास स्थायी समितिमा एशिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

आइपियुको सदस्य रहेको र त्यसले विश्व समुदायलाई नेपालबारे चिनाउन केही मद्धत गर्ने र आफू राष्ट्रिय सभामा विज्ञ सदस्यका रुपमा रहेको भन्दै आफ्नो जिम्मेवारी विधायकी भूमिकामा बढी केन्द्रित रहने बताइन् ।

‘तपाईँहरुलाई जानकारी नै छ । म भर्खरै मात्र अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएर आएको छु । यसले केही हदसम्म भए पनि नेपालको इज्जत र प्रतिष्ठा अन्तराष्ट्रियस्तरसम्म लैजान र उच्चो बनाउन केही भूमिका खेलेको होला भन्ने विश्वास मैले लिएको छु ।

त्यसैले अहिले मेरो पहिलो कर्तव्य उक्त संस्थामा गरेका प्रतिबद्धता पूरा गरी नेपालको प्रतिष्ठा विश्व जगतमा थप उच्च पार्ने रहेको अवगत गराउन चाहन्छु । म अहिले राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले पनि मैले अहिले ऐन कानुन बनाउन सक्रिय भूमिका खेल्नुपर्ने दायित्व छ,’ उनले भनेकी छन्, ‘अहिले तुरुन्तै मन्त्री भएर अहिलेका यी आफ्ना कर्तव्यबाट विमुख हुनुहुन्न भन्नेमा म प्रतिवद्ध छु । पूर्वराजदूतको समेत जिम्मेवारी सम्हालिसकेको अनुभव मात्रै होइन आफ्नो कर्तव्य र इमान्दारिताका लागि विश्व समुदायबाट सम्मानित भएर अन्तराष्ट्रिय पुरस्कारहरु समेत पाइसकेको व्यक्ति हुँ भन्ने जानकारी पनि यहाँ स्मरण गराउँन चाहन्छु ।’

त्यस्तै आफूमाथि पूर्वाग्रह नै राखेर केही व्यक्ति र समूह लागेको भन्दै त्यस्तो भ्रममा नपर्न समेत आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?