शिक्षकहरूको प्रदर्शन जारी

लोकपथ
287
Shares

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । मंगलबार पनि काठमाडौंको माइतीघर-बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन जारी राखेका हुन् ।  उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत २० दिनदेखि आन्दोलन गरिरहेका छन् । 

सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिबद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् । शिक्षकहरूले आन्दोलन जारी राख्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । 

शिक्षामन्त्रीको राजीनामासँगै शिक्षकहरूको मागहरू सम्बोधन हुन अझै असहज देखिएको छ । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरूको छ । 

सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरूका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिबद्धतामा शिक्षकहरू विश्वस्त छैनन् । सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरू आन्दोलन छोडेर फर्किने उनीहरूको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?