उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ ग्रासको एक सामुदायिक वनमा आज घाँस काट्दै गरेकी एक महिला भालुको आक्रमणमा परी घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भालुको आक्रमणबाट घाइते महिला कटारी–८ बस्ने वर्ष ४६ की पञ्चमाया तामाङ रहेकी छिन् । बिहान ९ बजेतिर स्थानीय नारायणी सामुदायिक वनमा घाँस काट्दै गरेकी तामाङलाई भालुले आक्रमण गरेको हो ।
भालुले तामाङमाथि आक्रमण गरेपछि उनी कराएका कारण अन्य वरपर घाँस काट्ने साथी आएपछि भालु भागेको थियो भने तामाङ घाइते भएकी थिइन् । भालुको आक्रमणबाट तामाङको टाउको, हात र शरीरका केही भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घाइते तामाङको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए। कटारी ग्रासका स्थानीय राजन बरालका अनुसार पछिल्लो समय नारायणी सामुदायिक वन क्षेत्र निकै घना जंगल हुँदै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया